
जेनजीलाई सुझावः अन्तरिम सरकारले निकास दिन्न, त्यसलाई विस्थापन अत्यावश्यक
काठमाडौं । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन्जीका परिवर्तनगामी मागलाई वेवास्ता गरेको भन्दै वक्ताहरुले त्यसको विस्थापन गरेर पूर्ण जेनजी सरकारको माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा भएको खबरदारी कार्यक्रममा उनिहरुले जेनजी पूर्ण सतर्क रहनुपर्नेमासमेत जोड दिएका छन् ।
‘राष्ट्रिय रक्ष जेन–जी क्रान्ति संघर्ष समिति एवं शान्तिदूत पक्षधर’ले आयोजना गरेको ‘देशभक्त विद्धान वर्गद्वारा सुझाव सल्लाह तथा खबरदारी कार्यक्रम’मा वक्ताहरुले वर्तमान सरकार पुराना दलहरुको गलत रवैयाको संरक्षक भएको आरोप लगाएका छन् ।
ब्रिटिस गोर्खा सैनिक न्याय अभियान तथा आमरण अनसनकर्ता पुष्पा घलेले जेनजी संघर्षबाट बनेको वर्तमान अन्तरिम सरकारले जेनजीले उठाएका मागहरुलाई वेवास्ता गर्दै गएको आरोप लगाईन । घलेले आन्दोलनले दिएको म्यान्डेटविरुद्ध कार्की नेतृत्व सरकार गएको बताउँदै भनिन्“यदि शुसान र भ्रष्टाचार मुक्त समाज बनाउने भन्दा पुरानै दलको पछुवा बन्ने हो भने तत्तकाल कुर्सि छाडेर मार्ग प्रशस्त गुर्नपर्छ ।”
गोर्खा विकास बैंक पूर्व सिइओ तथा जेनजी सल्लाहकार डा.अमोद डम्जनले जेनजी आन्दोलनबाट केही परिवर्तन भए पनि पूर्णरुप दिन थप सर्तक रहनुपर्ने सुझाव दिएका छन् । डम्जनले कार्की नेतृतवको सरकार पनि पुरानै दलहरुको योजनामा फसेकोले त्यसबाट जेन्जीले चाहे आनुसारको परिवर्तन नहुने भन्दै त्यसको विस्थापन हुनुपर्नेमा जोड दिए । नेपालमा भएको जेन्जीको मौलिक संघर्षबाट परिचित जेन्जीबारे प्रष्ट पार्दै डम्जनले भने,“‘अल जेन स्प्रीट बर्न उइथ गोरखाली जीन’ त्यसैले हामीले विश्वभरी चलेको जेन्जीसँग जोड्नु गलत हुन्छ ।”
राजनीतिक विश्लेषक लाहानु राम चौधरीले ठूला दलहरुले दशकौंदेखि नेपाली राजनीतिमा सिन्डीकेट चलाएर भ्रष्टाचार गर्नुको परिणाम उनिहरुलाई जेनजीले रोडमा लतारेको जिकिर गरे । वर्तमान अन्तरिम सरकार पनि पुराना दलहरुकै मतियार हुन थालेको आरोप लगाउँदै भने,“केपी, देउबा र प्रचण्डलाई पक्रेर अनुसन्धान नगर्नु नै जेनजीमाथि धोका र भ्रष्टहरुलाई संरक्षण गर्ने विषय पुष्टि भयो ।”
एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले देशमा युवाहरुले परिवर्तनको लागि गरेको बलिदानमाथि देशी–विदेशी शक्तिहरुले दुरुपयोग गरेको आरोप लगाए । गाहामगरले नेपालका ठूला भनिएका दलहरु शदियौंदेखि विदेशीको इसारामा चल्नुको परिणामा देश अस्थिरतामा गएको बताउँदै भने,“ विदेशीले नेपाललाई जहिले पनि अस्थिर बनाउँन चाहन्छन्, त्यसका लागि सबैभन्दा बढी ‘रअ’ र ‘सिआईए’ जस्ताः खुफिया एजेन्सीहरुले ठूला दललाई प्रयोग गर्ने र सरकार ढाल्ने अनि बनाउने खेल कहिलेसम्म चल्न दिने ?”
गोर्खा टुइडका सञ्चालक तथा सल्लाहकार दिप बहादुर शाहीले देशको राजनीतिक स्थायीत्वका लागि जेनजीहरुले निरन्तर सडकबाट खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।
जेनजी बुद्ध नेहाङ सिंहले देशमा स्थायीत्व र समृद्धीको लागि एक थिति र दुई नीति अबलम्बन गर्दै तेस्रो नेत्र खुलाई जनताको दुई दलीय जनवाद (जदुज)को दर्शन सिद्धान्तमा विश्व शान्ति र मानवतावादलाई आत्मसाथ गर्नुपर्ने धारणा राखे ।
जेनजी रविकिरण हमालले आन्दोलन लगत्तै जेनजीका नाममा विभिन्न समूहमा विभाजित हुनु दुर्भाग्य भएको बताए । हमालले वास्तविक जेनजीहरुले कार्की नेतृत्वको अन्तरिम सरकारलाई वैधानिकता नदिएको र उनको गतिविधीले आन्दोलनको मर्मविरुद्ध गएको बताउँदै त्यसको विस्थापन आवश्यक रहेको धारणा राखे ।
सल्लाहकार गेली शेर्पाले जेनजी तथा हरेक नेपाली दर्शन, सिद्धान्त भन्दा पनि व्यवहारिक बन्नुपर्नेमा जोड दिए । शेर्पाले सदियौंदेखि विभिधतामा एकताको शूत्रमा बाँधिएको नेपाली समाजलाई देशी–विदेशी शक्तिले विखण्डन गर्न ठूलो षड्यन्त्र गरिरहेकोप्रति चिन्ता व्यक्त गरे ।
आयोजक राष्ट्रिय रक्ष जेन–जी क्रान्ति संघर्ष समिति एवं शान्तिदूत पक्षधरका युवराज जंग थापाले जेनजी संघर्ष उत्कर्षमा पुगेकै बेला तथा सरकार सून्य भएपछि नेपाली सेना समक्ष आफूहरुले आन्दोलनका एजेन्डा अनुसार अघि बढ्न माग राखेको खुलासा गरेका छन् । थापाले भने,“हामी तत्काल पुरानो राज्य संयन्त्रमा आमुल परिवर्तन चाहन्थ्यौं तर सेनाले तत्कालिन समस्यालाई हल गरेर शान्ती कायम गर्न अमुक शक्तिको सिफारिसमा शुसिला कार्कीलाई प्रधानमन्त्री बनाएर जेनजी संघर्षलाई मत्थर पार्ने प्रयास गर्यो ।”
वर्तमान समयमा जेन्जी संघर्ष र मर्मभन्दा फरक गएको सरकारलाई विस्थापित गरेर पूर्ण जेनजी सरकार बनाउन आफूहरुको माग रहेको आयोजकले बताएको छ ।
“हाम्रो लक्ष्य भनेको संसारले खोजेको दर्शन सिद्धान्त नेपालदेखि सुरु गर्ने हो, यो भन्दै गर्दा नेपालको व्यवस्था र अवस्था पुरै बदलेर मौलिक वैज्ञानिक सतयुगमा देश हाँक्ने हो । यही जगमा टेकेर सम्पूर्ण नेपाल प्रेमी, देश भक्त जेनजीहरुलाई कत्ति पनि विचल्लित नभइकन सत्यको मार्गमा ऐक्यबद्ध हुन विनम्र अनुरोध गर्दछौं” आयोजले थपे ।