
दिपेश पौडेल ÷ रौतहट
रौतहट । रौतहटको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम सुरु गरिएको छ ।
तिहारको रौनकसँगै यहाँ छठ पूजाको पनि तयारी थालिएको हो । छठ पर्व पनि नजिकिँदै गएपछि चाँदी, लालबकैया, बागमति, झाँझलगायतका नदी तथा विभिन्न पोखरीलाई स्थानीयवासी तथा क्लबहरूको सहयोगमा विशेष रूपमा सिँगार्न थालिएको छ ।
छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि अहिले जलाशयलाई सरसफाई, माटोको मुर्ति र टेण्ट हाल्ने लगायतका कार्यहरु भइरहेका छन् । चन्द्रपुर नगरपालिकामा रहेको चाँदी नदीमा अहिले सजावटको तयारी भइरहेको चन्द्रपुर मिडिया प्रालिका अध्यक्ष मनोज कुमार साहले बताए ।
उनका अनुसार दुर्गा तथा छठ पूजा समिति सहित चन्द्रपुर मिडिया प्रालिको सहयोगमा छठ घाट सजाउने कार्य भइरहेको छ । अहिले प्रायः ग्रामीण भेगका गाँउमा छठ व्रतका गीतहरु गुञ्जिन थालेपछि यसको रौनक बढेको छ । यस पर्वमा सूर्य उपासना गरि विधि पुर्वक मनाइन्छ ।