
रामेछाप । असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग पुनः सञ्चालनका लागि अस्थायी डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार डाइभर्सन निर्माण र सडक मर्मतको काम तीव्र गतिमा भइरहेका छन् ।
‘डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, आज साँझसम्म यातायातका साधन सञ्चालन हुने अपेक्षा गरिएको छ’, उनले भने ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ निर्माणस्थलमा पुगेर प्रत्यक्ष अनुगमन गर्दै आवश्यक निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि रातभर सडक विभागका इञ्जिनियर र प्राविधिक टोलीहरू फिल्डमै खटिएर काम गरेका थिए ।
रोशी खोलाको बाढीले राजमार्गको काभ्रे खण्डमा १४ ठाउँमा र सिन्धुली खण्डमा दुई ठाउँमा सडक बगाएको थियो। ती सबै स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा सञ्चालनको तयारी गरिएको सडक विभागले जनाएको छ ।
बिपी राजमार्गलाई काठमाडौंबाट पूर्व जाने लाइफलाइन राजमार्गको रुपमा लिइन्छ । सो सडक अवरुद्ध हुँदा काभ्रे, रामेछाप, सिन्धुली हुँदै पूर्व जाने यातायात साधन अरनिको राजमार्गबाट दोलखा घुमेर गइरहेका छन् ।