आज :

काठमाडौंबाट दसैं यात्रा ः गाउँ फर्किंदा कोही उत्साहित, कोही चिन्तित

  • अनलाइन डबली

आकांक्षा धामी  ÷ नेपाल न्यूज बैंक

काठमाडौं । नेपालीहरूका लागि वर्षको सबैभन्दा प्रतीक्षित चाड वडादसैं सुरु भइसकेको छ । चाडको आगमनसँगै राजधानी काठमाडौंबाट हजारौं मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका छन् ।

सहरका गल्लीहरूमा अझै चाडपर्वको रौनक उत्रिसकेको छैन तर नयाँ बसपार्क र अन्य यात्रा केन्द्रहरूमा भने घर फर्किनेहरूको गति सुरु भइसकेको छ ।

काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दसैंको अवसर पारेर एकछिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।

कतिले झोला भिरेका छन्, कतिले पिठ्यूमा बालबच्चा च्यापेका छन्, तिनको मुहारमा छुट्टै आशा र उमंग देखिन्छ — गाउँ पुग्ने र आफ्नो परिवारसँग दसैं मनाउने ।

तर यो उत्साहसँगै चिन्ताका धागोहरू पनि गाँसिएका छन् । सडकको अवस्था, पहिरोका खबरहरू, टिकटको मूल्य वृद्धिले केहीको अनुहारमा तनाव छ ।

यहीबीच नेपाल न्यूज बैंकले नयाँ बसपार्कमा यात्रुहरुको अवस्थाको बारेमा बुझेको छ ।  यहीबीच नरेन्द्र जोशी, जो प्रायः हरेक वर्ष दसैंमा घर फर्कने गर्छन्, यस वर्षको परिवेश केही फरक रहेको अनुभव गर्छन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनी भन्छन्, ‘अघिल्ला वर्षहरूमा त यहाँ खुट्टा राख्ने ठाउँ पनि हुन्नथ्यो । भीडभाड यति धेरै कि हिड्नै नसक्ने अवस्था हुन्थ्यो,’ उनी सम्झिन्छन् ।

‘अहिले भने चहलपहल त छ, तर त्यो उस्तै जोश, त्यो हल्ला छैन । लाग्छ, जेनजी आन्दोलन र स्कुल–कलेज चाँडै बन्द भएको कारण धेरै पहिले नै फर्किए होलान् गाउँ । अहिले टिकट पाउन पनि सजिलो छ, त्यो त सास्ती कम भएको कुरा हो ।’

तर, उनी अर्को पक्ष पनि उठाउँछन् – बिग्रिएको सडक अवस्था । ‘धेरै साथीहरू बाटोमै जाममा परेका छन् । त्यसैले यात्रा गर्दा पानी र केही खानेकुरा बोकेर जान सबैलाई सुझाव दिन चाहन्छु,’ जोशीले भने । साथै, नयाँ यातायात मन्त्री कुलमान घिसिङप्रति अपेक्षा राख्दै अबका दिनमा सडक स्तरोन्नति हुने आशा गरेको समेत उनले बताए ।

त्यस्तै धनगढी जाँदै गरेका दीपक बहादुर खत्री पनि बस ढिलाइप्रति असन्तुष्ट छन् । ‘टिकट त पाइयो, भाडा पनि दसैंमा अलिकति त बढ्छ नै –२८ सय, २९ सयसम्म छ । तर बस ढिलो हुनु, बाटोको अवस्था कमजोर हुनु चिन्ताको विषय हो । अब त नयाँ सरकार आएको छ, केही त फरक देखिनुप¥यो,’ उनले भने ।

कैलालीतर्फ लागेकी अनिता चौधरीको चिन्ता भने अलि फरक छ । विद्यार्थी भएकाले भाडा वृद्धिको प्रभाव सिधै उनीमाथि परेको छ । ‘टिकट काट्न आजमात्रै आएकी हुन् । भाडा पहिलेभन्दा बढी छ । हामीजस्ता विद्यार्थीका लागि दसैंमा यसरी भाडा बढाउनु उचित  हुँदैन । तर जति गुनासो गरे पनि दसैंमा त सधैं यस्तै हुन्छ,’ उनले दुखेसो पोखिन् ।

यात्रु प्रकाश जोशीको अनुभव पनि मिश्रित रह्यो । उनी भन्छन्, ‘टिकट व्यवस्थापन पहिलेभन्दा सहज छ । भिड पनि कम छ । तर भाडा भने अत्यधिक बढेको छ । त्यसमाथि पहिरोका कारण धेरैजना नारायणगढ र मुग्लिनमा अलपत्र परेका छन् । सरकारले समयमै सडकको मर्मत गर्नुपर्छ, यात्रा सुरक्षित बनाउनुपर्छ ।’

दसैं घर फर्कने उत्साह त छ तर यात्रुको मनमा सडकको अवस्था, भाडाको वृद्धि, र ढिलाइप्रति गुनासो पनि उत्तिकै छ । काठमाडौंबाट गाउँ फर्किने यात्रुले सरकारसँग धेरै अपेक्षा राखेका छन् जसमा सुरक्षित यात्रा, उचित भाडा र समयमै सेवा । दसैंको रौनकसँगै यो समय यात्रुको धैर्यको पनि परीक्षा बनेको छ ।

यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरु उपत्यकाबाट बाहिरिने सम्भावना छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal