
काठमाडौं । नेपालीहरूका लागि वर्षको सबैभन्दा प्रतीक्षित चाड वडादसैं सुरु भइसकेको छ । चाडको आगमनसँगै राजधानी काठमाडौंबाट हजारौं मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका छन् ।
सहरका गल्लीहरूमा अझै चाडपर्वको रौनक उत्रिसकेको छैन तर नयाँ बसपार्क र अन्य यात्रा केन्द्रहरूमा भने घर फर्किनेहरूको गति सुरु भइसकेको छ ।
काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दसैंको अवसर पारेर एकछिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।
कतिले झोला भिरेका छन्, कतिले पिठ्यूमा बालबच्चा च्यापेका छन्, तिनको मुहारमा छुट्टै आशा र उमंग देखिन्छ — गाउँ पुग्ने र आफ्नो परिवारसँग दसैं मनाउने ।
तर यो उत्साहसँगै चिन्ताका धागोहरू पनि गाँसिएका छन् । सडकको अवस्था, पहिरोका खबरहरू, टिकटको मूल्य वृद्धिले केहीको अनुहारमा तनाव छ ।
यहीबीच नेपाल न्यूज बैंकले नयाँ बसपार्कमा यात्रुहरुको अवस्थाको बारेमा बुझेको छ । यहीबीच नरेन्द्र जोशी, जो प्रायः हरेक वर्ष दसैंमा घर फर्कने गर्छन्, यस वर्षको परिवेश केही फरक रहेको अनुभव गर्छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनी भन्छन्, ‘अघिल्ला वर्षहरूमा त यहाँ खुट्टा राख्ने ठाउँ पनि हुन्नथ्यो । भीडभाड यति धेरै कि हिड्नै नसक्ने अवस्था हुन्थ्यो,’ उनी सम्झिन्छन् ।
‘अहिले भने चहलपहल त छ, तर त्यो उस्तै जोश, त्यो हल्ला छैन । लाग्छ, जेनजी आन्दोलन र स्कुल–कलेज चाँडै बन्द भएको कारण धेरै पहिले नै फर्किए होलान् गाउँ । अहिले टिकट पाउन पनि सजिलो छ, त्यो त सास्ती कम भएको कुरा हो ।’
तर, उनी अर्को पक्ष पनि उठाउँछन् – बिग्रिएको सडक अवस्था । ‘धेरै साथीहरू बाटोमै जाममा परेका छन् । त्यसैले यात्रा गर्दा पानी र केही खानेकुरा बोकेर जान सबैलाई सुझाव दिन चाहन्छु,’ जोशीले भने । साथै, नयाँ यातायात मन्त्री कुलमान घिसिङप्रति अपेक्षा राख्दै अबका दिनमा सडक स्तरोन्नति हुने आशा गरेको समेत उनले बताए ।
त्यस्तै धनगढी जाँदै गरेका दीपक बहादुर खत्री पनि बस ढिलाइप्रति असन्तुष्ट छन् । ‘टिकट त पाइयो, भाडा पनि दसैंमा अलिकति त बढ्छ नै –२८ सय, २९ सयसम्म छ । तर बस ढिलो हुनु, बाटोको अवस्था कमजोर हुनु चिन्ताको विषय हो । अब त नयाँ सरकार आएको छ, केही त फरक देखिनुप¥यो,’ उनले भने ।
कैलालीतर्फ लागेकी अनिता चौधरीको चिन्ता भने अलि फरक छ । विद्यार्थी भएकाले भाडा वृद्धिको प्रभाव सिधै उनीमाथि परेको छ । ‘टिकट काट्न आजमात्रै आएकी हुन् । भाडा पहिलेभन्दा बढी छ । हामीजस्ता विद्यार्थीका लागि दसैंमा यसरी भाडा बढाउनु उचित हुँदैन । तर जति गुनासो गरे पनि दसैंमा त सधैं यस्तै हुन्छ,’ उनले दुखेसो पोखिन् ।
यात्रु प्रकाश जोशीको अनुभव पनि मिश्रित रह्यो । उनी भन्छन्, ‘टिकट व्यवस्थापन पहिलेभन्दा सहज छ । भिड पनि कम छ । तर भाडा भने अत्यधिक बढेको छ । त्यसमाथि पहिरोका कारण धेरैजना नारायणगढ र मुग्लिनमा अलपत्र परेका छन् । सरकारले समयमै सडकको मर्मत गर्नुपर्छ, यात्रा सुरक्षित बनाउनुपर्छ ।’
दसैं घर फर्कने उत्साह त छ तर यात्रुको मनमा सडकको अवस्था, भाडाको वृद्धि, र ढिलाइप्रति गुनासो पनि उत्तिकै छ । काठमाडौंबाट गाउँ फर्किने यात्रुले सरकारसँग धेरै अपेक्षा राखेका छन् जसमा सुरक्षित यात्रा, उचित भाडा र समयमै सेवा । दसैंको रौनकसँगै यो समय यात्रुको धैर्यको पनि परीक्षा बनेको छ ।
यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरु उपत्यकाबाट बाहिरिने सम्भावना छ ।
आकांक्षा धामी, नेपाल न्यूज बैंक