
काठमाडौँ । तातोपानी नाकास्थित इको पहिरोमा ट्रयाक खुलाएर सडक सुचारु गरेपछि चिनियाँ क्षेत्रमा रोकिएका मालबस्तु बोकेका कन्टेनर तातोपानी भन्सार आउन थालेका छन् ।
अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गतको इको पहिरो सडकखण्ड पन्छाएर सडक सञ्चालन गर्न निर्देशन दिएपछि सडक डिभिजन कार्यालय चरिकोटले दुई महिनादेखि पन्छाउन नसकेको इको पहिरो पन्छाएर ट्रयाक खोलेर कन्टेनर भन्सार आउने वातावरण मिलेको हो ।
इको पहिरोले साउन ७ गते कोदारी सडकखण्ड बन्दपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्वमा गत भदौ ५ गते इको पहिरो पन्छाएर सडक सुचारु गरिएको थियो । तर त्यसको तीन दिनमा पुनः इको पहिरो आएपछि असोज ५ गतेसम्म कोदारी सडकखण्ड ठप्प भएको थियो । सोमबार घटनास्थापनका दिनबाट सो सडकखण्ड सुचारु भएको छ ।
दुई महिनादेखि इको पहिरोले कोदारी सडकखण्ड बन्द हुदाँ दसैँको बालबस्तु बोकेर तातोपानी भन्सार आउन लागेका एक हजार पाँच सयभन्दा बढी कन्टेनरहरु चीनको न्यालम, सिगात्से, ढिंगे्र, खासा, जाङ्बोपोर्ट लगायतका चिनियाँ क्षेत्रमा अड्किएका थिए । साथै नेपालतर्फको लिपिङबजार, पूरानो तातोपानी भन्सार कार्यालयको प्राङगण, कोदारीबजार क्षेत्र आसपासमा मालबस्तु बोकेका कन्टेनर रोएिका थिए । कन्टेनरहरुले चाडपर्वका सामान, इलेक्ट्रोनिक बस्तु, फलफुलजन्य र मसलाजन्य बस्तु बोकेर ल्याउदै छन् ।
उक्त सडकखण्डमा पहिरो नियन्त्रणका लागि कात्तिक मसान्तसम्म ठेक्का निकालेर असार मसान्तसम्म दीर्घकालीन रुपमा पहिरो नियान्त्रण काम गर्ने अन्तरिम सरकारको लक्ष्य छ ।