काठमाडाैँ । ऐतिहासिक नेवार बस्ति कीर्तिपुरमा बागभैरव जात्रा मनाइदै छ। कीर्तिपुरका बासिन्दाका इष्टदेवताका रुपमा समेत मानिने बाघभैरवको जन्म दिनको रुपमा प्रत्येक वर्षको सिंह संक्रान्ती अर्थात भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरिने प्रचलन रहेको छ ।
जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरेर बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखी कीर्तीपुरका विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा मनाउने प्रचलन रहिआएको छ ।
नेपाल सम्वत् १०६७ तदनुसार बि. सं. २०१३ साल देखि शुरु भएको यो जात्रामा खटजात्रा चलाउने परम्परा भने बि. सं. २०१४ भदौ १ गतेदेखि सुरु भएको इतिहास कारहरुको भनाइ छ । जात्राको दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।
    – यस्तो छ आख्यान
कीर्तिपुरको वास्तविक इतिहास नरगो र बाघभैरवे देवस्थलको आख्यान र ऐतिहासिक दस्तावेजले छर्लङ पारिदिन्छ । कीर्तिपुरको प्राचीन वस्ती नरगो हो। जहाँ खनजोत गर्दा अहिले पनि पुराना घरका पर्खालको जग पाउन सकिन्छ। आख्यानअनुसार कीर्तिपुरस्थित हालको बाघभैरव बस्ती जंगलै जंगलले ढाकिएको बेला नरगोवासी झवाः मचाः (गोठाला) भेडा चराउन जाँदा माटोको बाघको मूर्ति बनाएर खेल्नेगर्दथे। वाघको अङ्ग बनाउँदा बनाउँदै जिब्रो राख्न पात खोजेर फर्कदा माटोको बाघले साक्षात रूप लिई भेडा सबै खाइदिएछ ।
आश्चर्यचकित उनीहरू चिच्याएको सुनी नरगोवासी घटनास्थल पुग्दा जंगलको चारैतिर बाघ गर्जेको आवाज सुनेछन् । भनिन्छ, त्यसैबेलादेखि नरगोवासी हाल टंगालको हांडीगाउँमा बसाई सरेका हुन् । त्यसैले टंगालस्थित हांडीगाउँलाई नेपालभाषामा नरदे अर्थात् नरगोवासी भनिएको हो। वाघबाट पीडित नःगां र पांगाःवासी मिली तान्त्रिकलाई देखाउँदा माटोको वाधमा भैरव प्रवेश गरेकाले शान्त गर्न पूजा समारोहको आयोजना गर्नुपर्ने सुझाव दिएछन् ।
सोही दिनको स्मरणमा प्रत्येक वर्ष भाद्र सिंह संक्रान्तिको दिन बाघभैरवलाई रांगा, भेडा र बोका बली दिई खुसी पार्ने र भव्य खटजात्रा गर्ने परम्परा चल्दैआइरहेको छ। तीनतल्ले आयातकार पेगोडाशैलीको बाघभैरव मन्दिर पाटन पिम बहालका महापात्र जगतपाल वर्माले ने.सं. ३३५ मा निर्माण गराएका हुन् । गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरे राजा ज्ञानप्रजा मल्ल र रानी कीर्तिलक्ष्मीको हत्या गर्नुअघि ने.सं. ८८४ मा भएको युद्धमा कीर्तिपुरेले उनै बाघभैरवको शक्ति सांचेर तीनपल्टसम्म हराइदिएको बताइन्छ ।
सो युद्धमा राजा पृथ्वीनारायण शाहका भाई सुरप्रताप शाहको देब्रे आँखा फोरिनुका साथै गोर्खा सैनिक कमान्डर कालु पाण्डेको हत्या गरी ढाल, तरबार, कवच र फलामको भोटो बाघभैरवलाई चढाएका थिए। हाल मन्दिर जीर्ण छ भने कालु पाण्डेको फलामको भोटो हातहतियार छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको छ ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

बुद्धशरण शाही


