
काठमाडौँ, साउन २७ गते । काठमाडौं महानगरपालिकाले प्रथम खो खो विश्वकप २०२५ मा उपविजेता महिला र पुरुष टोलीलाई ११–११ लाख र नेपाल खो खो संघलाई ८ लाखसहित ३० लाख प्रदान गरिएको छ ।
खेलाडीहरुलाई प्रदान गरिएको समान ११ लाख रुपियाँ प्रत्येक खेलाडीहरुलाई समान रुपमा वितरण गर्नेछ ।
नेपाली खेल इतिहासमा विश्वकप खेलेर यस्तो नतिजा ल्याएको नेपालमा पहिलो पटक हो ।
हालै नयाँ दिल्लीमा भएको दुवै समूहको फाइनलमा खो खो पुरुष टोलीले भारतसँग ५४–३६ र खो खो महिला टोलीले भारतसँगै ७८–४० ले पराजित भएर दोश्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।
पुरुष टोलीका कप्तान हेमराज पनेरु र महिला टोलीका कप्तान सरस्वती कडायतले सम्मानबाट हौसला बढेको र दोश्रो विश्वकपमा पहिलो हुनसक्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिनुभयो ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले संयुक्त रुपमा खेलाडीहरुलाई सम्मान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा उपप्रमुख डंगोलले खेलाडीहरुले नेपालको इज्जत बढाएको बताउनुहुँदै आउँदा दिनमा थप सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, गोरखापत्र संस्थानका पूर्व सल्लाहकार सम्पादक उपेश महर्जन र कामनपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायतको उपस्थिति थियो ।
सम्मान कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले नेपाली खेलाडीलाई आउँदा दिनमा पनि आर्थिकलगायतका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल खो खो संघका महासचिव शंकर महर्जनले महानगरपालिकाले गरेको सम्मानले भविष्यमा खेलाडीहरुले नेपालको शिर ठाडो पार्नको लागि दुवै टोलीले उत्कृष्ट स्थान हासिल गर्नसक्ने प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो ।
यसैबीच, नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले चाँडै नेपाल सरकारबाट प्रतिखेलाडी ४५ लाखको आर्थिक सम्मान प्रदान हुने लागेको बताउनुभयो ।
उहाँका अनुसार ललितपुर जिल्ला खेलकुद परिषदले एकलाख ११ हजारको आर्थिक सम्मान र राखेपले विश्वकपमा खर्च भएको करिब ५ लाख रुपियाँ प्रदान गरेको जानकारी पनि दिनुभयो ।
साथै, सोही कार्यक्रममा हालै भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का विजेता रवीन्द्र ढाटलाई पनि दुई लाख रुपैयाँसहित सम्मान गरेको छ ।
भारतको नोएडामा भएको एमएफएन १७ मा उहाँले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा हराउँदै उपाधि जित्नुभएको हो ।