
काठमाडौँ । इरानले लगातार प्रत्याक्रमण जारी राखेपछि इजरायलको सहयोगी अमेरिकासम्म तनावको वातावरण बनेको छ । केही नेताको हत्या र आणविक ऊर्जा केन्द्रमा हमला गरेर आत्मसमर्पण गराउने योजनाका साथ अमेरिकाको सहयोगमा इजरायलले शुक्रबार राति एकाएक हमला गरेको थियो ।
हमलाको केही घण्टा नबित्दै इरानले जवाफी हमला सुरु गरेको थियो । इरानको जवाफी हमला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कल्पना गरेभन्दा उच्चस्तरको भएको छ ।
इजरायलले पहिलो पटक हवाई हमला गरेपछि उत्साहित हुँदै ट्रम्पले इरानलाई आफूले भनेअनुसार आणविक सम्झौतामा हस्ताक्षर गर्न भनेका थिए । तर, इरानले अमेरिकासँगको आणविक वार्ता नै रद्द गरिदियो ।
इरानले अमेरिकाको थार्ड र इजरायलको विश्वचर्चित आइरन डोम एयर डिफेन्सलाई चक्मा दिँदै राजधानी तेल अभिभ, हाइफालगायतका मुख्य शहरलाई पूर्णस्तरको हमला गरेको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यम र सामाजिक संजालमा सार्वजनिक भएका भिडियो र तस्वीरले इजरायलको अवस्था गाजाको जस्तै भएको देखिएको छ । इरानले हाइपसोनिक मिसाइल प्रहार जारी राखेपछि ट्रम्पले जी–७ शिखर सम्मेलन छोडेर अमेरिका फर्किएका छन् ।
त्यसअघि उनले इरानको राजधानी तेहरान छोड्न चेतावनी दिएका छन् । ट्रम्पले आफ्नो सेनाले इरानमाथि हमला गर्न सक्ने संकेत गर्दै सो चेतावनी दिएका हुन् ।
इजरायलले इरानलाई झुकाउन नसकेपछि अमेरिका युद्धमा आउन बाध्य हुने अवस्था सिर्जना भएको छ । यदि ट्रम्पको चेतावनी वास्तविकतामा बदलिएमा तेस्रो विश्वयुद्ध हुने विश्लेषण हुन थालेको छ ।