
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै गरेको सैन्य सहयोग पूर्णरुपमा रोक लगाएका छन् ।
सीबीएस न्युजसँग ह्वाइट हाउसका अधिकारीले युक्रेनमा नपुगेका सबै सैन्य उपकरणमाथि रोक लगाइने बताए । पोल्यान्डको डिपोमा राखिएका र युक्रेन पुग्ने बाटोमा रहेका ती सबै हतियारमाथि प्रतिबन्ध लगाइनेछ ।
न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार, यो प्रतिबन्ध तत्काल प्रभावबाट लागु भएको छ । ती अधिकारीले भने, ‘हामी हाम्रो सहायता रोक्दै छौँ र यसले समस्या समाधान गर्न मद्दत गरिरहेको छ भनी सुनिश्चित गर्न समीक्षा गर्दै छौँ ।’ उनले राष्ट्रपति ट्रम्प शान्तिमा ध्यान केन्द्रीत रहेको बताए ।
ट्रम्पको यो कदमले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई थप दबाब बढेको छ । अमेरिकाको आडमा विगत तीन बर्षदेखि युद्ध लडिरहेका जेलेन्स्कीले खनिज सम्झौता नगरी ह्वाइट हाउसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग झोक्किएर फिर्ता भएका थिए ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले यो सम्पूर्ण विषयमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रपति ट्रम्प हाल विश्वका एक मात्र यस्तो नेता हुन्, जोसँग युक्रेनमा युद्ध स्थायी रूपमा अन्त्य गर्ने मौका छ । हामी रुसलाई वार्ताको टेबुलमा ल्याउन चाहन्छौँ । हामी यहाँ शान्ति सम्भव छ कि छैन भनेर जान्न चाहन्छौँ ।’
अमेरिकाले युक्रेनलाई कति र कस्तो सहयोग गर्दै आएको थियो ?
युक्रेन युद्धमा अमेरिकी सैन्य सहायता तीन प्रक्रियाबाट पुग्छ । पहिलो, राष्ट्रपतिबाट सिधै दिइने रकम । दोस्रो, विदेश मन्त्रालयको फरेन मिलिट्री फाइनान्सिङ (एएफएमएफ) मार्फत र तेस्रो, युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (यूएसएआई)मार्फत ।
यद्यपि, आजको घोषणाले यी सहायतालाई कसरी असर गर्छ र भविष्यमा के हुनसक्छ भन्ने हाल स्पष्ट छैन ।
अमेरिकी सरकारको एक प्रेस विज्ञप्तिअनुसार, सन् २०२५ जनवरी २० सम्म अर्थात् ट्रम्पले राष्ट्रपति पदको शपथ लिने दिनसम्म अमेरिकाले युक्रेनलाई करिब ६.९ अर्ब डलरबराबरको सैन्य सहायता दिएको छ ।
उक्त विज्ञप्तिअनुसार, अमेरिकाले २०२१ अगस्टदेखि २०२५ जनवरीसम्म ५५ पटक युक्रेनलाई राष्ट्रपतिका तर्फबाट सैन्य सहायताका रूपमा दिएको रकम प्रयोग गरेको छ । यो रकम करिब २७ अर्ब ६८८ बिलियन डलर छ ।
यस्तै, युक्रेनले एफएमएफमार्फत चार अर्ब ६५ करोड डलर सहयोग प्राप्त गरेको छ । अमेरिकाले युक्रेनलाई हालसम्म दिएको हतियारमा हक एयर डिफेन्स सर्भिसेस, ४० हाई मोबिलिटी रकेट सिस्टम (हिमार्स), दुई सय १५५ एमएम होविट्जर, सत्तरी १०५ एमएम होविट्जर, ३१ अरबाम ट्यांक, ४५ टी–७२बी ट्यांक, २० एमआई हेलिकोप्टर, दुई एन्टी सिप मिसाइल प्रमुख छन् ।
बीबीसीका अनुसार यसबाहेक अमेरिकाले युक्रेनलाई विद्युतीय उपकरण, चिकित्सा उपकरण, रासायनिक, जैविक, रेडियोलोजिकल, आणविक सुरक्षात्मक उपकरण, शीत सुरक्षा उपकरण, हतियारका स्पेयर पाट्र्स र अरू उपकरणसहित धेरै महत्त्वपूर्ण सहयोग प्रदान गरेको छ ।
गत वर्ष नोभेम्बरमा अमेरिकाले युक्रेनलाई रुसभित्र सीमित आक्रमणका निम्ति आर्मी टेक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न अनुमति दिएको थियो । आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) अमेरिकी रक्षा कम्पनीद्वारा निर्मित एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो ।