
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको चर्चित वार्ता असफल भएको छ । ट्रम्प र जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा बार्ता असफल भएको हो ।
खनिज सम्झौतामा हस्ताक्षर हुने चर्चा भएपनि कुरा नमिलेका कारण वार्ता असफल भएको हो । योसँगै दुबै नेताले एकअर्काप्रति गम्भिर आरोप समेत लगाए । ट्रम्पले आफूले सहयोग गरेवापत युक्रेनले खनिज खानीमा हक हुनुपर्ने सर्त राखेका थिए ।
ट्रम्पको सर्तलाई ढिलोगरी स्वीकार गरेका जेलेन्स्की अमेरिका पुगेका थिए । वार्तामा जेलेन्स्कीले पूर्ण सुरक्षाको ग्यारेण्टी गरेमात्रै खनिज सम्झौता हस्ताक्षर गर्ने अडान राखेका थिए । उनले रुसलाई पूर्णरुपमा युक्रेनबाट धपाउनुपर्ने माग समेत राखेका थिए ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जेलेन्स्कीले अमेरिकाले सहयोग जारी राखेमा आफूले रुसलाई हराउन सक्ने दाबी गरेका थिए । उनको दाबीलाई ट्रम्पले ठाडै अस्वीकार गरेका थिए ।
ट्रम्पले आफूले युक्रेनलाई धेरै सहयोग गरेको भन्दै अब सर्तसहित सहयोग गर्ने बताउँदै पूर्ण सुरक्षाको ग्यारेण्टी नलिने समेत बताएका थिए । रुससँग युद्ध नजित्ने समेत ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिएका थिए ।
वार्तामा जेलेन्स्कीले आफ्नो जिद्दी नछोडेपछि ट्रम्प रिसाएको भिडियोमा देख्न सकिन्छ । ट्रम्पले जेलेन्स्कीले शान्ति नचाहेको र यदि उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने स्पष्ट गरे ।
त्यसैगरी ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप लगाए । ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविराम चाहेको तर जेलेन्स्कीले शान्ति नचाहेको समेत बताए ।
जेलेन्स्कीले दुई देशबिच बहुमूल्य खनिजसम्बन्धी सम्झौता गर्न अमेरिकाको भ्रमण गरेका थिए तर यो सम्झौता अब असफल भएको छ।
दुई नेताबिचको चर्को बहसका कारण बैठकपछि तय भएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कन भनियो । यो अहिलेसम्म अमेरिकामा अर्को देशका प्रमुखलाई गरेको अपमान भएको बताइएको छ ।
बैठकपछि ट्रम्पले ट्रुथ सोसलमा भने, ‘बैठकमा धेरै कुराहरू आए । तर, राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ । मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु ।’
जेलेन्स्कीले अमेरिकाको अपमान गरेको दाबी गर्दै ट्रम्पले जेलेन्स्कीले शान्ति नचाहेको समेत दाबी गरे । ट्रम्पले अहिलेसम्म ३५० अर्ब डलर अमेरिकाले सहयोग गरेको बताउँदै आफ्नो देशले सहयोग नगरेको भए युक्रेनले दुई हप्तामा युद्ध हार्ने बताएका थिए ।
ट्रम्पले भने, ‘हामीले तपाईंलाई ३५० अर्ब डलर दिएका छौँ। हामीले तपाईंलाई सैन्य उपकरणहरू दिएका छौँ। यदि हामीले सैन्य सहयोग नदिएको भए, यो युद्ध दुई हप्तामा समाप्त हुने थियो ।’
वार्ता असफल भएपछि जेलेन्स्कीले भने युक्रेनले पनि शान्ति चाहेको दाबी गरेका छन् । उनले अमेरिकी टिभी च्यानल फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै विश्व मिडियाको अगाडि ओभल अफिसमा भएको संवाद राम्रो नभएको समेत बताए ।
कसरी भयो विवाद ?
यसअघि, जेलेन्स्कीले ट्रम्पलाई रुसी राष्ट्रपति पुटिनसँगको शान्ति वार्तामा ‘कुनै सम्झौता’ हुनु हुँदैन भनेर बताएका थिए । तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कूटनीतिबाट युद्ध अन्त्य गर्न सकिने बताएपछि दुई नेताबिच बहस सुरु भयो ।
जेलेन्स्कीले भान्सलाई सोधे, ‘तपाईं कस्तो प्रकारको कूटनीतिको कुरा गर्दै हुनुहुन्छ ?’ जवाफमा, भान्सले भने, ‘म त्यो कूटनीतिको बारेमा कुरा गर्दैछु जसले तपाईंको देशमा भइरहेको विनाशलाई रोक्न सक्छ ।’
भान्सले थप सोधे, ‘के तपाईंले बैठकको क्रममा एकपटक पनि धन्यवाद भन्नुभयो ?’ जेलेन्स्कीले जवाफ दिए, ‘मैले धेरै पटक धन्यवाद भनेको छु ।’
त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई भने, ‘युक्रेन अहिले ठुलो समस्यामा छ र उनीहरूले रूससँग युद्ध जित्न सक्दैनन्, तर यदि तपाईं हामीसँग हुनुहुन्छ भने, तपाईंसँग यसबाट बाहिर निस्कने मौका छ ।’
भेटमा ट्रम्पले युद्धको समयमा युक्रेनलाई दिइएको सहयोगको मुद्दाको बारेमा कुरा गरे।
ट्रम्पले भने, ‘यदि मैले तपाईंहरू (रुस र युक्रेन) लाई बिचमा ल्याइनँ भने, तपाईं कहिल्यै सम्झौता गर्नुहुने छैन।’
‘तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ। अर्को पक्षलाई पनि मन पर्ने केही छैन। तपाईं मलाई सख्त बनाउन चाहनुहुन्छ र म संसारको अरू कोही भन्दा कडा हुन सक्छु। तर तपाईंले त्यसरी सम्झौता गर्न सक्नुहुन्न।’