
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो कार्यकालमा जस्तैः संसद विघटनको बाटोमा हिँडिरहेको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आरोप लागाएका छन् । आइतबार काठमाडौँमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशन उद्घाटन गर्दै सापकोटाले सरकारका जनविरोधी हर्कतको प्रतिवाद गर्नुपर्नेसमेत बताएका छन् ।
माओवादी प्रवक्तासमेत रहेका सापकोटाले अध्यादेशबाट शासन चलाउने सरकारको मनशुवा असफल भएपछि संसद विघटन गर्ने तयारीमा लागेको आरोप लगाउँदै भने,“संसद विघटन गरेर मध्यावदी चुनावबाट बहुमत ल्याउने सपना ओली जी फेरी बुन्न लाग्नु भएकोछ जुन सम्भव छैन ।” सापकोटाले सेन्टरको उपत्यका प्रदेशलाई एकताबद्ध भएर नयाँ नेतृत्व चयन गर्न शुभकामना दिए ।
सो अधिवेशनलाई शुभकामना दिदै नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले सरकारले नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई निमोठ्न प्रेस स्वतन्त्रालाई नियन्त्रण गर्न खोजिरहेको बताए । अधिकारीले मिडिया काउन्सिल विधेयक तथा समाजिक सञ्जाललाई नियमनका नाममा नियन्त्रण गर्ने अध्यादेशको व्यापक विरोध गर्नु पर्ने धरणा राखे ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा‘जुगल’ले मिडिया काउन्सिल विधेयक तथा सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजिरहेकोले त्यसलाई देशव्यापीरुपमा हरेक सेन्टरका सदस्यहरुलाई विरोध गर्न निर्देशन दिए ।
संगठनका वरिष्ठ उपाध्यक्ष कमल गिरीले जनताको पक्षमा कलम चलाउन हरेक सेन्टरकर्मीलाई निर्देशन दिए ।
संगठनका उपाध्यक्ष निर्मल ज्ञवालीले प्रेस सेन्टरमा पद तथा जिम्मेवारीको विषयलाई लिएर कोही पनि विभाजित हुननहुने बताए । उपत्यका प्रदेशका इन्चर्जसमेत रहेका ज्ञवालीले जनपक्षीय पत्रकारीता र निमुखा जनताको आवाज बोल्न र लेख्न हरेक सेन्टर कर्मिलाई निदेर्शन दिए ।
उपाध्यक्ष विदर खड्काले पार्टी र जनताको आवश्यकता अनुसार जुनसुकै भूमिकामा जानसक्नु पर्ने अवस्थालाई मध्यनजर गरेर क्षमता, प्रतिभा र विशेषता अनुसार जो कोही पनि पद तथा प्रतिष्ठालाई मुख्य विषय बनाउन नहुने बताए ।
अर्का उपाध्यक्ष सेरश यादबले संगठनले जिम्मेवारी दिदा वा व्यक्तिले लिदा भूगोल, जनअपेक्षा र ठाउँ विशेषलाई ध्यान पुर्याउनु पर्ने धारणा राखे ।
उपाध्यक्ष गंगा बरालले देशभर उत्साहप्रद ढंगले प्रेस सेन्टरका अधिवेशनबाट निर्बिवाद तवरले सक्षम नेतृत्व चयन भइरहेको र उपत्यकामा पनि सकभर सहमतिबाट नयाँ नेतृत्व चयन हुने विश्वास व्यक्त गरिन् ।
उपाध्यक्ष मनोज घर्तिले संगठनको आवश्यकता अनुसार नेतृत्व र नेताको चयन हुनुपर्ने बताए ।
उपाध्यक्ष लक्ष्मण खड्काले जनपक्षीय पत्रकारीता तथा श्रमजीवी पत्रकारितामा प्रेस सेन्टरको ऐतिहासिक भूमिका रहेको र अब पनि त्यसलाई घनिभूत बनाउने विश्वास रहेको बताए ।
महासचिव सन्तोष पौडेलले देशैभरी संगठनका जिल्ला तथा प्रदेशहरुमा उत्साहप्रद तवरले नेतृत्व चयन भइरहेकोले उपत्यकामा पनि सक्षम र सक्रिय नेतृत्व चयन हुने आशा व्यक्त गरे ।
उपत्यका प्रदेश अध्यक्ष नबराज दाहालले देशको राजधानी काठमाडौं र ललितपुरमा आफ्नो कार्यकालमा संगठनको प्रभावशालीता पुष्टि गरेको र भक्तपुरमा पनि उल्लेख्य सफलता प्राप्त गरेकोले आउँदो नेतृत्वले त्यसलाई थप भूमिका बढाउँने विश्वास रहेको बताए ।
प्रेस सेन्टर उपत्यका प्रदेश उपाध्यक्ष सागर पन्तले शुभकामना मन्तव्य दिएका थिए भने सो कार्यक्रमलाई महासचिव रोजिना थापाले सञ्चालन गरेकी थिइन् ।