काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । यसपटक भारत उपाधि जित्ने लक्ष्यमा दाबी गरेको छ ।
भारतीय टोली अशलतादेवीको कप्तानीमा रहेको छ । यसअघि भन्दा योपटक भारतीय टोली बलियो मानिएको छ । भारतीय टोलीमा सिनिय र जुनियर खेलाडीको मिश्रण छ । नयाँ प्रशिक्षक सन्तोष कश्यपले टोली सम्हालेका छन् ।
मुख्य प्रशिक्षक सन्तोष कश्यपले साफ वुमन्स च्याम्पियनसिप आफ्नो लागि नयाँ भए पनि टिम राम्रो रहेको र लक्ष्य उपाधि जित्ने दाबाी गरेका छन् ।
भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् । उनले पाकिस्तानविरुद्धको पहिलो खेल महत्वपूर्ण हुने बताइन् ।
यसअघि सन् २०२२ मा काठमाडौंमै भएको साफ यी दुई टोली समूह चरणमा भिडेका थिए जसमा भारत ३-० ले विजयी भएको थियो ।
यसपटक पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् । पहिलो खेलमै भारतसँग खेल्नु पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक अदिल रिज्की बताउँछन् ।