काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीले नेपाली भूमि लिपुलेक-कालापनीबारे भारतको दाबी पुग्ने बताएपछि चौतर्फी विरोध भइरहेको छ । चौधरीलाई भारतीय दलाल भन्दै सामाजिक संजालमा पार्टीबाट कारवाही गर्नुपर्ने माग समेत उठेको छ ।
भदौ २५ गते एक टिभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ भनि अभिव्यक्ति दिएका थिए । सो क्रममा चौधरीले भारतले लिपुलेक-कालापानी आफ्नाे भूमि भएको दाबी गरिरहेको बताउँदै सो दाबी पुग्ने ….बताएका थिए ।
चौधरीको चौतर्फी विरोध हुन थालेपछि बिहीबार महासचिव घनश्याम भूसालले स्पष्टीकरण सोधेका हुन् । तीन दिने स्पष्टिकरणमा महासचिवले अनेकौं तथ्यहरुले उक्त भूभाग नेपालकाे भन्ने कुरा स्पष्ट पारेको र आफ्नाे पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंक बनाइसकेको बताउँदै त्यसविपरित मुलुकको अखण्डता र सार्वभौमसत्ताविरुद्ध किन बोल्नुभयो भन्दै प्रश्न गरेका छन् ।
‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो ?’ स्पष्टिकरणमा भनिएको छ ।