काठमाडौँ । बालुवाटार इभेन्ट्स प्रा.लि.ले नक्सा पास नगरी ‘गुण्डाराज’ चलाउँदै पाटी प्यालेस संचालन गरिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्री नीवास नजिकै अवैध संरचनामा निर्माण गरी व्यवसया गरेपनि राज्यका निकायले अहिलेसम्म केही गर्न सकेका छैनन् ।
करार सम्झौताअनुसार बहाल नतिरेको र नक्सा पास नगरी अवैध संरचना निर्माण गरेको विषय काठमाडौँ महानगरपालिकामा पुगिसकेको छ । जग्गाधनी सुरेश भट्टराईले २०८० साउन ८ गते बहाल रकम दिलाई जग्गा खाली गरिपाउँ भन्दै निवेदन दर्ता गरेका थिए । तर, अहिलेसम्म महानगरपालिकाले न जग्गा खाली गराएको छ संचालकले न बहाल तिरेका छन् ।
नक्सा पास सम्बन्धी उजुरीबारे मेयर बालेन शाहको इजलासले यही भदौ १३ गते निर्णय सुनाउँदैछ । निर्णय सुनाउने दिन नजिकिँदै गर्दा संचालकको तर्फबाट मुक्ति दाहालले सुरेश भट्टराईको नाममा गरेको पुरानो मञ्जुरीनामाका आधारमा नयाँ नक्सा पास लिन दौडधुप गरिरहेका छन् ।
यसअघि अर्का जग्गाधनी उमेश भट्टराईको नाममा गरेकाे किर्ते मञ्जुरीनामाकै आधारमा नक्सा पास गरेका थिए । त्यस सम्बन्धी किर्ते मुद्दामा प्रहारीले अदालतबाट संचालकलाई पक्राउ पुर्जी लिएको छ । प्रहरीले गत जेठ १७ गते जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो । तर, हालसम्म उनिहरु पक्राउ परेका छैनन् ।
मञ्जुरीनामा गरेकाे समयमा जग्गाधनी उमेश अस्ट्रेलियामै थिए । उक्त मञ्जुरीनामामा राखिएका साक्षी पनि किर्ते भएको जग्गाधनी सुरेश बताउँछन् । उनले उक्त मञ्जुरीनामामा आफ्नो नाम राखेर किर्ते हस्ताक्षर गरेको बताए ।
जबकी जग्गाधनी सुरेशले मञ्जुरीनामा दिएपनि लामो समयदेखि बहाल नतिरेको भन्दै उनले आफ्नो जग्गा खाली गराईपाउँ भन्दै महानगर पुगिसकेका छन् । नक्सा पास नगरेकाे जग्गा ऐश्वर्य बस्नेत भट्टराईको नाममा गइसेकको छ । तर, पनि दाहाल पुरानै मञ्जुरीनामा देखाउँदै महानगरबाट नक्सा पासको अनुमति लिने दाउमा छन् ।
दाहालले राजनीतिक पहुँचलाई दुरुपयोग गर्दै मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई भ्रममा पारेर पुरानाे मञ्जुरीनामा देखाउँदै नक्सा पास लिने खेलमा लागेको स्रोतले बतायो । दाहाल आफै र भनसुन गरेर नक्सा पास अनुमतिको दैनिकजसो महानगरपालिका धाइरहेको एक कर्मचारीले बताए ।
२०७५ असार १२ गते दर्ता भएको उक्त प्रा.लि. ले बालुवाटार चर्चित ललिता नीवास नजिकै रहेकाे भट्टराई परिवारको जग्गा भाडामा लिएर पाटी प्यालेस संचालन गर्दै आएको छ । कम्पनीका अध्यक्ष सुदिप क्षेत्रीले २०७५ मंसिर १७ गते अर्का जग्गाधनी उमेश भट्टराईको नक्कली मञ्जुरीनामा तयार गरी २०७६ बैशाख २५ गते वडाबाट प्रमाणित गरेका थिए ।
महानगरपालिकाभित्र बनेका अवैध संरचना भत्काउँदै चर्चामा आएका मेयर शाहले बालुवाटार इभेन्ट्स प्रा.लि.ले बनाएको संरचना भत्काउँछन् वा संचालकले छरेको भ्रममा पर्छन् भन्ने कुरा यही १३ गते देखिनेछ ।