पोखरा । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आज सकिएको छ ।
हिजोबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेश गर्नुभएको थियो । बैठकलाई अध्यक्ष प्रचण्डसहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्नुभएको थियो ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । अब भदौ १२ र १३ गते सुदूरपश्चिम प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको परामर्श बैठक बस्नेछ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गर्नुभएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।