काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए । ‘अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं,’ उनले भने ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आचार्यलाई मुख्यमन्त्री बनाउने भएपछि पार्टीभित्र तीब्ररुपमा असन्तुष्टि बढेको छ ।
संसदीय दलका नेता गिरीले एमाले संसदीय मूल्य मान्यताविरुद्ध गएको प्रतिक्रिया दिएका छन् । उनले संसदीय दलको नेता हुँदाहुँदै अर्को व्यक्तिलाई अगाडि सार्नु गलत संस्कार भएको समेत दाबी गरे । उनले यसले एमालेमा गलत संस्कारको सुरुवात गरेको समेत बताए ।