आज :

प्रधानमन्त्रीले राजिनामा नदिने, एमालेले समर्थन फिर्ता लिए संसदमा फेस गर्छौंः देव गुरुङ

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन् ।

बुधबार संवाद डबलीले गरेको कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए । गुरुङले भने, ‘संविधानको जग वृहत शान्ति सम्झौता हो, वृहत शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो । मध्यरात षड्यन्त्रमूलक ढंगबाट संविधान संशोधनको सहमति गरेर उपलब्धीलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’ उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए ।

महासचिव गुरुङले प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने बताए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा संविधानले दिएका सुविधाअनुसार संसदमा विश्वासको मत माग्ने बताउँदै गुरुङले भने, ‘अहिलेसम्म सरकारमा सहभागी कुनैपनि दलले समर्थन फिर्ता लिएको जानकारी औपचारिक रुपमा आएको छैन, कसैले माग्दैमा प्रधानमन्त्रीले राजिनामा दिने कुरा हुँदैन । पार्टीले संविधानले दिएको सुविधाअनुसार संसदमा विश्वासको मत माग्ने निर्णय गरेको छ ।’ उनले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको (३) अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी समेत गरे । गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्यख्या यहाँ मेल नखाने समेत दाबी गरे । ‘कोशीमा ३० दिनसम्म विश्वासको मत नलिएपछि सोही धाराअनुसार सरकार गठन भएको हो, मुख्यमन्त्रीले विश्वासको मत लिएको भए अर्को धाराअनुसार सरकार गठन हुने थियो’ गुरुङले बताए ।

महासचिव गुरुङले एमालेले अहिले नै समिकरण छोड्नुपर्ने कुनै कारण नभएको बताए । उनले आन्तरिक रुपमा झिनामसिना कुरा भएपनि काँग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको बताए । ‘एमालेले वामपन्थी गठबन्धन छोडेर काँग्रेससँग घाटी जोड्न जानुपर्ने अवस्था हामीले देखेका छैनौं । केही झिनामसिना कुराबाहेक गठबन्धनमा कुनै खटपट थिएन तर पनि एमाले काँग्रेसको कित्तामा जान पुग्यो । यदि ओलीजीलाई प्रधानमन्त्री बन्ने रहरै पलाएकै भए यही गठबन्धनबाट झन् सजिलो थियो’ गुरुङले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा र एमाले नेता रामबहादुर थापाका छोरा प्रतिक पक्राउ परेपछि काँग्रेस र एमाले एक ठाउँमा आएको गुरुङले दाबी गरे । ‘यो बीचमा भएको दुईवटा घटना हुन्, पहिलो टीआरसी र अर्को नक्कली भुटानी प्रकरणमा मुछिएर फरार रहेका झा र थापा पक्राउ । यदि झा र थापा पक्राउसँगै लहरो तान्दा पहरो आउने डरले एमाले र काँग्रेस एकठाउँमा आएका हुन सक्छन् नत्र त टीआरसी टुंग्याउनेमा तीनै दलको फरक मत छैन’ गुरुङले भने ।

काँग्रेस र एमालेको कदमले नेपाल फेरि द्वन्द्वमा फस्न सक्ने बताउँदै दोस्रो युक्रेन बन्ने खतरा बढेको गुरुङले दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal