आज :

मापसे र लापसेविरुद्ध प्रहरी सक्रिय : ६ महिनामा करिब ४० हजार चालक कारबाहीमा

  • अनलाइन डबली

काठमाडौं । माधक पदार्थ सेवन (मापसे) र लागूओषध पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेविरुद्ध निरन्तर चेकजाँच र कारबाही गर्दै आएको नेपाल प्रहरीले छ महिनामा करिब ४० हजार चालकलाई कारबाही गरेको छ । मापसे र लापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै प्रहरीले निरन्तर चेकजाँच र कारबाही गर्दै आएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुससम्मको अवधिमा प्रहरीले मापसे गरेर सवारी चलाउने ३९ हजार २७२ जना चालकलाई कारबाही गरेको छ भने त्यही अवधिमा लापसे गरेर सवारी चलाउने २ सय ४२ जना चालक पनि कारबाहीमा परेका छन् । प्रहरीले उनीहरूबाट जरिवानाबापत् मात्रै ३ करोड ९९ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यात्रु, सवारीसाधन र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे र लापसे चेकिङलाई प्राथमिकतामा राखेको प्रहरी प्रवक्ता डिआईजी भिमप्रसाद ढकालले बताए ।

‘चालकले मापसे गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गर्ने गरिएको छ । लहै–लहैमा लागेर घर भन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउँछ,’ उनले भने, ‘त्यस्ता सम्भावित दुर्घटनालाई कम गर्न प्रहरीले निरन्तर चेकजाँच र कारबाही गर्दै आएको छ ।’

उनले सिसिटिभिको पहुँच न्यून र सीमित ठाउँमा मात्रै ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको बताए ।

‘यस्तो प्रवृत्तिलाई निरूत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी सफल कार्यान्वयन गर्दै प्रभावकारी रूपमा काम गर्दै आएको छ,’ उनले भने, ‘दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनको लागि प्रत्येक चालकले सही हालतमा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीय स्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ ।’

उनका अनुसार यो अवधिमा काठमाडौं उपत्यकामा १८ हजार ६२७ जना, कोशी प्रदेशमा २ हजार ५२४ जना, मधेश प्रदेशमा २ हजार २१ जना, बागमती प्रदेशमा १ हजार ९८ जना, गण्डकी प्रदेशमा ८ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा २ हजार ७७३ जना, कर्णाली प्रदेशमा १ हजार २६४ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारवाहीमा परेका छन् ।

कारवाहीमा पर्नेहरूबाट काठमाडौं उपत्यकामा १ करोड ८६ लाख २७ हजार रूपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५ सय रूपैयाँ, मधेश प्रदेशमा २० लाख ४२ हजार ५ सय रूपैयाँ, बागमती प्रदेशमा ११ लाख १७ हजार रूपैयाँ, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार रूपैयाँ, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार रूपैयाँ, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रूपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।

सो अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनी प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा २५ जना कारवाहीमा परेका छन् । मधेश, बागमती र कर्णाली प्रदेशमा कारवाही संख्या शून्य छ ।

डिआइजी ढकाल भन्छन्, ‘मापसे चेकिङका लागि सीमित जनशक्ति र सिसिटिभि क्यामराको न्यून पहुँच छ भने ब्रेथलाइजर लगायतका साधनस्रोत पर्याप्त छैनन् । यसका बावजूद चेकजाँचमा नेपाल प्रहरीको सक्रियता कायम नै छ । नियमित चेकिङको साथै चाडपर्वको बेला जुनसुकै समयमा चेकजाँच हुने गरेको छ ।’

उनले मापसे लापसे नगरेर सवारी साधन चलाउने कार्यको लागि प्रहरी र नागरिक एकआपसमा सहकार्य र समन्वय गरी आगाडि बढ्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal