काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दाबढी विद्युत् उत्पादन सम्भव भएको बताएका छन् ।
मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने दाबी समेत गरे ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्न सक्ने बताए ।
सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको बताउँदै बस्नेतले पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको जानकारी समेत दिए ।
लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्न सके ऊर्जा क्षेत्रका समस्या समाधान हुने समेत मन्त्रीले बस्नेतले दाबी गरे । उनले लगानी कर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको बताए ।