धनगढी । फेरि बझाङमा बुधबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार १० बजेर ३ मिनेटको समयमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पले बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत धक्का महसुस गरिएको छ ।
भूकम्पबाट सुदूरपश्चिममा पछिल्ला दिनमा स्थानीय बासिन्दा त्रसित बनेका छन् । फेरि भूकम्प आउने डरले पुराना घर भएका स्थानीय रातभर घर बाहिर बसेको बताइएको छ ।
बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। दर्जनौं घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो। असोज १६ यता पटकपटक पराकम्प आइरहेका छन् ।