काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
पर्यटन मन्त्रालयलका अनुसार ‘पर्यटन र हरित लगानी’ भन्ने मूल नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।
पर्यटनमा वातावरणमैत्री संरचनाको निर्माण र प्राकृतिक श्रोत साधन उन्मुख पर्यटनलाई आधार मानेर हरित लगानीका कुराहरु यसवर्ष ब्यापक छलफल गरिने छ ।
सहज पर्यटन संसारका सबै जनाको पहुँचमा हुनुपर्दछ जसले गर्दा हामी बाचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकुन, अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्त्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा व्यापक रूपमा जानकारी र छलफल गरिन्छ ।
पर्यटन दिवसलाई भव्य रुपमा मनाउन लागि पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति समेत गठन गरिएको छ ।
आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आएका विदेशी पर्यटकलाई पर्यटनमन्त्री किरातीले स्वागत गरेका छन् ।
बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिनेछ । पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रममा हुनेछ ।
विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यस वर्ष भने ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो ।
पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम समेत छ ।