
काठमाडौं । एमसीसीविरुद्ध नारा लेख्दै गर्दा गिरफ्तार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरु रिहा भएका छन् । पार्टीका काठमाडौं जिल्ला संयोजक केदार खतिवडासहितका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
काठमाडौंको जरसिंहपौवामा एमसीसी खारेज हुनुपर्ने मागसहितका नारा लेख्दै गर्दा खतिवडासहित प्रभात, सरेशलाई गिरफ्तार गरेको थियो । उनीहरुलाई साँखु प्रहरी चौकीमा राखिएको थियो ।
त्यसैगरी अन्य ठाउँबाट प्रहरीले पार्टीका महाधिवेशन आयोजक समिति सदस्य कमरेड ढोगप्रसाद उपाध्याय, प्रदेश समिति सदस्य द्वय कमरेड अशल मोक्तान र कमरेड प्रदीप अस्तानीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
पार्टी प्रवक्ता कञ्चनले विज्ञप्ति जारी गरेर रिहाईको माग गरेका थिए । राष्ट्रहित र जनसरोकारका मागलाई लिएर शान्तिपूर्ण तरिकाले भित्तेलेखनमा संलग्न गिरफ्तार गरी प्रहरी हिरासतमा राख्नु साम्राज्यवादको दलाल सरकारको नालायकी र फासीवादी कदमको अभिव्यक्ति भएको कञ्चनले आरोप समेत लगाएका थिए ।
विज्ञप्तिमा कञ्चनले राष्ट्रघाती तथा जनघाती कदमका विरुद्ध सडकमा उत्रिन हाम्रो पार्टी आम देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समूह तथा व्यक्तित्वहरुलाई अपील समेत गरेका छन् ।