
काठमाडौँ । धनुषा- ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२२३६ मत ल्याई विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्र यादवले ३२११२ मत ल्याएका छन् । महासेठ यसअघि पनि धनुषाबाटै विजयी भएका थिए ।
धनुषा-३ बाट यसअघि निर्वाचित महासेठ यसपटक धनुषा ४ मा उम्मेदवार बनेका थिए । धनुषा- ३ बाट यसअघि नै उनकी श्रीमती जुलीकुमारी महतो विजयी भइसकेकी छन् । महासेठ एमाले सचिव हुन् ।
यस्तै प्रत्यक्षतर्फको अन्तिम मतगणनामा ४७ को मतान्तरले जितहार भइसकेपछि समानुपातिकतर्फका पेटिका खोल्दा प्रत्यक्षतर्फ हालिएका मतपत्र भेटिन थालेपछि पाँचथरमा प्रतिनिधिसभातर्फको मतगणना चर्चामा छ ।
जबकि त्यो बेला नेकपा एमालेका वसन्तकुमार नेम्वाङले प्रतिस्पर्धी कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मत अन्तरले हराएको खुसियालीमा समर्थकसहित सदरमुकाम फिदिममा वियज उत्सव मनाइसकेका थिए ।
उक्त बेलासम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवार घोषणा र प्रमाण पत्र वितरण भने गरेका थिएनन् । समानुपातिक तर्फको गणना सुरु गर्दा प्रत्येक मत पेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिँदा केहीबेर प्रतिनिधिबीच चर्काचर्की हुँदा दुई घण्टा गणना रोकियो ।
मुख्य निर्वाचन अधिकृतको पहलमा बोलाइएको सर्वदलीय बैठकमा समानुपातिकतर्फका पेटिकामा भेटिएका मतपत्र गणना गर्ने सहमतिसँगै अहिले गणना जारी छ । पछिल्लो पटक खोलिएका पेटिकामा पनि प्रत्यक्षतर्फका मतपत्र भेटिने क्रम रोकिएको छैन ।
यसो भइरहँदा जितिसकेका उम्मेदवारलाई पुनः हारिएला कि भन्ने तनावसँगै हारेकालाई कतै एक/दुई मतले उछिनिएला कि ? भन्ने आशा पलाएको देखिन्छ । प्रत्यक्षतर्फको गणनामा झिनो मतान्तर रहेकाले उम्मेदवार र प्रतिनिधिसँगै तिनका समर्थक सबैको ध्यान यतिखेर गणना स्थलतर्फ खिचिएको छ ।
हालसम्म सबैभन्दा धेरै कांग्रेसलाई मत दिइएका १४ वटा मतपत्र भेटिएका छन् । एमालेलाई ८, नेकपा मालेलाई एक र दुई बदर भएका मतपत्र भेटिएका छन् । समानुपातिकतर्फका करिब ५८ हजार मत गन्दा प्रत्यक्षतर्फको गणनामा ४७ मतले जित र हार स्विकारेका आङदेम्वे र नेम्वाङबीचको प्रतिस्पर्धा अब ३८ को मत अन्तरमा खुम्चिएको छ ।