
काठमाडौँ । विप्लवसहित ४ पार्टीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौँमा नपरे पनि काठमाडौँबाहिर भने बन्दको प्रभाव देखिएको छ ।
बन्दकर्तालाई जनतालाई तर्साउन कतै बम राखेको पाइएको छ भने कतै गाडीहरु तोडफोड भएका छन् । बन्दकै क्रममा बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधन चल्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको टोलीले डिस्पोज गरेपछि सवारी साधन पूर्वबत चलेका हुन् ।
खतरा लेखिएको प्रेसर कुकर बम राजमार्गमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गणको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो । बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौंको थापा गाउँमा नेपाल यातायात तोडफोड गरिएको छ । अनामनगरबाट बानेश्वर जाँदै गरेको बा ४ ख ९०८९ नम्बरको बस बन्दकर्ताले तोडफोड गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा बसको पछाडिको भागमा क्षति पुगेको छ । त्यस्तै कोटेश्वरको आकाशे पुल नजिक बा. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ ।
‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ । सार्वजनिक सवारी तोडफोड गर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै बन्दकर्ताले काठमाडौंको डिल्लीबजार स्थित सफ्टवारिका कलेजमा तोडफोड गरेका छन् । आज बिहान ६ बजे सो कलेजमा आएको एक समूहले तोडफोड गरेको हो ।
मोटरसाइकलमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।
सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।
काठमाडौं उपत्यकाबाट १८ जना बन्दकर्ता पक्राउ
काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।
काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।
उता बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।
चितवन प्रहरीका अनुसार बन्द आह्वान कर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु-याएका छन् । चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।