
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार पार्टीले भोलि भाद्र ७ गते मंगलबार नेपाल बन्द आब्हान गरेका छन ।
नेकपा विप्लव र सरकारसंग भएका तीन बुँदे सहमती सरकारबाटै उङ्गघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन हुन लागेको भन्दै त्यसको बिरुद्धमा नेपाल बन्द आब्हान गरिएको ति पार्टीहरुले जनाएका छन् ।
नेकपा लगायत ४ पार्टीले बन्दको पूर्वसन्ध्यामा आम हड्तालमा ऐक्यबद्धता जोहर गरिदिन सबैलाई अपिल गरेका छन् । तर, नागरिक स्तरबाट भने बन्दको विकल्प खोज्दै अन्य विधीबाट संघर्षका कार्यक्रम अघि बढाउन समेत दलहरुमा माग अघि सारिदै आएको छ ।
‘राज्य आतंक राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न हामीसँग जनजागरण , जनहस्तक्षेप र जनसंघर्ष गर्नु बाहेक अर्को विकल्प छैन तसर्थ राज्य गलत बाटोमा हिड्ने जुन मूर्खता गरिरहेको छ, त्यसलाई रोक्न चार कम्युनिस्ट पार्टीसे जनसंघर्षका कार्यक्रमहरु घोषणा गरेका छौं ।’ चार पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै घोषित जनसंघर्षका कार्यक्रमहरुलाई पूर्ण सहयोग र समर्थन गरी जनविरोधी राज्यको हर्कतलाई परास्त गर्न हामी सम्पूर्ण प्रगतिशील , वामपन्थी देशभक्त र क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुलाई उनीहरुले आग्रह पनि गरेका छन् ।
जनताका मुद्धाहरुको देवास्ता गरिएमा सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि विज्ञप्तिमा उल्लेख छ । पहिलो चरणमा भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
त्यस्तै दोस्रो चरणमा भाद्र ६ गते देशव्यवपी मशाल जुलुस, भाद्र ४ गते देशव्यापी विरोधसभा काठमाडौँ उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा गरेका ४ पार्टीले भोली भाद्र ७ गते नेपाल बन्द आह्वान गरेका हुन् ।