आज :

ऊर्जामन्त्री भुसाल र फिनल्याण्डका विकास सहायतामन्त्रीबीच भेटवार्ता

  • अनलाइन डबली

फिनल्याण्ड । नेपाल र फिनल्याण्ड सरकारले जलस्रोत उपयोग, जलवायु परिवर्तन एवं मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री भिल्ले स्किन्नरीबीच आज भएको भेटवार्तामा उनीहरूले दुई देशका साझा मुद्दामा एकीकृत भएर अगाडि बढ्ने ऐक्यबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा मन्त्री भुसालले जलवायु परिवर्तनका लागि नेपालले कुनै योगदान नगरेको तर त्यसको असर भोग्नुपरेकाले फिनल्याण्ड सरकारसँग साझेदारी गरेर अगाडि बढ्न चाहेको बताइन् । उनले जलवायु परिवर्तनको असरबाट उत्पन्न भइरहेको प्रकोपको असर कम गर्नका लागि फिनल्याण्ड सरकारबाट प्राप्त सहयोग थप विस्तार गर्न आग्रह गरिन् ।

मन्त्री भुसालले भनिन्, ‘जल तथा मौसम विज्ञान विभाग र फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीचको सहकार्यलाई विस्तार गरौँ, हवाई उड्डयनको पूर्वानुमानलाई पनि थप प्रभावकारी तुल्याउनका लागि प्रविधिमैत्री बनाउनुपर्छ । त्यसका लागि हामीलाई फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।’

नेपालको ऊर्जा क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउनका लागि जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको जलविद्युत् विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘बूढीगण्डकीजस्ता ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा सरकारले प्राथमिकता दिएको छ, त्यसका लागि ठूलो आर्थिक आवश्यकता पर्छ, बूढीगण्डकी आयोजना निर्माणका लागि फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।’

उनले आफ्नो देशले स्वच्छ ऊर्जालाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै हाइड्रोजन ऊर्जा विकास गर्नका लागि प्रविधि हस्तान्तरण गरेर सहयोग गर्न आग्रह गरिन् ।

त्यसैगरी फिनल्यण्डका मन्त्री स्किन्नरीबीले नेपालको सामाजिक विकास र जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने असर कम गर्ने विषयमा आफ्नो सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनका हाम्रो साझा समस्या हो, यसको असर कम गर्न हामी नेपाललाई सहयोग गर्नेछौँ ।’ जलवायु परिवर्तनको असर कम गर्न र नेपालको ऊर्जा तथा सामाजिक विकासमा थप सहयोग गर्नका लागि तत्पर रहेको उल्लेख गर्दै मन्त्री स्किन्नरीबीले जैविक इन्धनको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा जोड दिए ।

सो भेटघाटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, डिएचएमका महानिर्देशक कमलराम जोशी र फिनल्याण्डका तर्फबाट नेपालका लागि फिनल्याण्डका राजदूत पर्ती एन्टिनेन, फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआइ) का महानिर्देशक जुस्सी काउरोलालगायतको सहभागिता रहेको छ ।

नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीच सन् २०१० देखि मौसम पूर्वाअनुमानका विषयमा सहकार्य हुँदै आएको छ । सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि फिनल्याण्डले नेपाललाई ऊर्जा विकास, सरसफाइ, खानेपानी तथा मौसम तथा उड्डयनको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal