
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।
विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र सोमबार प्रारम्भिक सुनुवाइ हुने जानकारी दिए । साउन पहिलाे साता मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियाे । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।
पछिल्लो समय केसी सक्रिय राजनीतिमा आउन खोजिरहेका थिए । पहिलो संविधानसभा चुनावपछि केसी एमाले प्रवेश गरेका थिए । दोस्रो संविधान सभा चुनावमा एमालेले उनलाई समानुपातिक उम्मेदवार बनाउन खोजेको थियो ।
तर पार्टीभित्र चर्को विरोध भएपछि उनको टिकट खोसिएको थियो । त्यसपछि उनको नाम कहिले राप्रपा त कहिले उन्नत लोकतन्त्र पार्टीसँग जोडिएको थियो ।
गत स्थानीय तहको चुनावमा केसीलाई स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले काठमाडौंको मेयरको उम्मेदवारका रूपमा घोषणा गरेको थियो । तर केसीले भने प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको बताएका थिए ।
गत वैशाख २० गते केसी अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै तीन कलाकार कांग्रेश प्रवेश गरेका थिए । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको हो ।