
काठमाडौँ । चार वर्षअघि निर्मला पन्तको बला त्कार र ह त्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले किशोरीहरुलाई दुर्व्यवहार गर्न थालेको आरोप लागेको छ ।
२०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको ह त्या भएको थियो । १३ वर्षीया पन्तको बला त्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।
भिमदत्त नगरपालिका–१९ बागफाँटाका विष्टले आजभोलि रेडक्रस–उल्टाखाम सडकमा हिँड्ने किशोरीहरुलाई जिस्काउने र हैरानी गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए । उनले भने–‘हाम्रो टिमले त्यसबारे अनुसन्धान गरिरहेको छ ।’
किशोरीहरुलाई दुर्व्यवहार गर्ने दिलीपको स्वभाव नै भएको र चार वर्षअघि पनि उनको स्वभाव त्यहि नै रहेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
दुर्व्यवहार गरेको भन्नेबारे किशोरीका अभिभावकहरूले प्रहरीलाई भनेका छैनन् । तर, निर्मला पन्त बला त्कार र ह त्या अनुसन्धान गर्न खटिएका सीआईबी र जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरूले सो सूचना पाएपछि त्यसबारे अनुसन्धान थालेका हुन् ।
निर्मलाको ह त्या भएको २५ दिनपछि प्रहरीले दिलीपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो । २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो ।
दिलीपको पछिल्लो हर्कतबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै एसपी चौधरी भन्छन्– ‘दुव्र्यवहार भएको कुरामा हामी बुझ्दैछौँ ।’