
काठमाडौँ । प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालका ४१ वर्षीय दिनेश पाण्डेले घर झगडाकै कारण दुई सन्तान र पत्नीको ह त्या गरेको रहस्य खोलेको छ ।
झगडा बढ्दै जाँदा दिनेशले सामूहिक ह त्या गरेर आत्म ह त्याको निर्णय लिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।
मध्यरातमा पत्नी र छोराछोरीलाई चक्कुले घोपेर ह त्या गरेपछि दिनेशले आत्म ह त्या गरेको प्रहरी अनुसन्धान निष्कर्ष छ । सोमबार सैनिक स्कुलको गाडी धेरैबेर रोकियो आशिका बस चढ्न आइनन् ।
स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए । पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटर भित्र रहेको एकतले घरको ढोका खुलेन ।
झ्यालबाट हेर्दा विभत्स दृश्य देखियो । दिनेश पत्नी ३९ वर्षकी सुनिता भुइँमा मृत अवस्थामा पल्टिरहेकी थिइन् । खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक मृत अवस्थामा पल्टिरहेका ।
प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि अर्को कोठामा मृत अवस्थामा भेटिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँटीमा बिजुलीको तार बाँधिएको थियो । झुण्डिने प्रयास गरेको तर, उनी झुन्डिन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
दिनेशले सुसाइड नोटमा लेखेका छन्– ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो, मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’
गोरखा धुसेनी घर भएकी सुनिता काप्री भिमसेनथापा गाउँपालिका स्थित आश्राङमा सानैदेखी जान्थिन् । आश्राङका पाण्डे उनका मावली हुन् । मामाघर जाँदा पाण्डे र सुनिता प्रेममा परे ।
प्रेमसम्बन्ध पछि उनीहरुले विवाह गर्ने निधो गरेका हुन् । तर, पाण्डेकै भाञ्जी भएको हुनाले परिवारले विवाह अस्वीकार गरेका थिए । परिवारले अस्वीकार गरेपनि प्रेमलाई उनीहरुले विवाहको रुप दिए ।
दुई सन्तान जन्मिए । दिनेश ११ वर्ष कुवेतमा पसिना बगाएर फर्किए । ४ वर्षअघि नेपाल आएर तारकेश्वरमा घर बनाए । परिवार ठीकठाक चल्दै थियो ।
तर, २०७७ माघमा सुनिताले आफुलाई तरकारी काट्ने चक्कुले हिर्काएर ह त्या प्रयास गरेको भनेर दिनेशविरुद्ध प्रहरी वृत बालाजुमा उजुरी गरेकी थिइन । श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्थे र यही विषयमा उनीहरुबीच झगडा हुने गरेको थियो ।
बारम्बार झगडा भएपछि सुनिताले प्रहरीमा उजुरी दिइन् । प्रहरीको बालाजु वृत्तले तीन पटकसम्म दुवैलाई बोलाएर छलफल गराएको थियो, तैपनि उनीहरुबीच पारिवारिक मेल हुन सकेन ।
पछिल्लो पटक दिनेशले घर बेच्ने भनेर १० लाख रुपैयाँ बैना समेत लिएका थिए । तर सुनिताले बेच्न मानिनन् । उनको नाममा घर भएकाले दिनेशको केही लागेन । सुनिताले घर किन्न बैना गर्ने व्यक्तिलाई एक लाख जरिवानासहित ११ लाख रुपैयाँ फिर्ता गरिदिइन् ।
दिनेशले सुनितासँग सम्बन्धविच्छेद (डिभोर्स) गर्न चाहेका थिए । तर सुनिताले छोराछोरीको भविष्यमा असर गर्ने भन्दै अस्वीकार गरिन् । बरु उनले वैदेशिक रोजगारीका लागि जाने प्रयास थालिन् । त्यसक्रममा बेलायतको सिजनल भिसा लागेपछि उनले पदमसालकै फेन्सी पसल बेच्नुका साथै मेगा ड्रिम सहकारीमा रहेको पैसा निकालेर खाता नै बन्द गरेकी थिइन् ।
तर बेलायत उड्नुअघि नै उनको हत्या भयो । अनुसार उनले सुसाइड नोटमा श्रीमतीसँग सम्बन्ध राम्रो नभएको, उजुरी दिएर आफूलाई महाराजगञ्ज वृत्तमा थुनाएको गुनासो गरेका छन् ।