
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार ६२० जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८५ पीसीआर र २ हजार २ सय २४ एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट ६३२ र एन्टिजेन परीक्षणबाट २६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ जना पुगेको छ ।
उपत्यकामा संक्रमण बढ्दै
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ७२ पुगेको छ । त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ६६ जना संक्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय संक्रमितको संख्या ३० र ललितपुरमा ५ सय ४३ पुगेको छ ।
सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने कास्कीङ्गा २ सयभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, दार्चुला र बाजुरा रहेका छन् ।
उपत्यकाका विभिन्न अस्पतालमा १०३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ३५ जना जनरल वार्डमा, ३१ जना एचडीयूमा, ३२ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा छन्
नेपालमा पछिल्लो २४ घण्टामा ३३ हजार १ सय ७६ मात्रा कोरोना खोप लगाइएको छ । अहिलेसम्म नेपालमा ४ करोड ९४ लाख २५ हजार १ सय १३ मात्रा खोप लगाइएको छ ।
त्यसमध्ये २ करोड १५ लाख ५६ हजार ९१ जनाले एक मात्रा, २ करोड ५ लाख ९२ हजार १ सय जनाले पूर्ण मात्रा र ७२ लाख ७६ हजार ९ सय २२ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।