 
	
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् ।
मेयर शाहले शुक्रबार साँझ ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गरेका हुन् । त्यसक्रममा उनले स्थानीयको माग सम्बोधन गरेर जाने बताए । त्यसका लागि योजना पनि बनाइसकेको उनले जानकारी गराएका थिए।
संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरको मेयरमा निर्वाचित बालेन्द्रले दलहरूको दबदबा चिर्दै छोटो समयमै काठमाडौंवासीको मन त जिते तर मेयरको रुपमा उनका अघिल्तिर चुनौतीका चाङ छन् ।
काठमाडौं सधैं धुवाँ, धुलो, फोहोर, जाम र थोरै वर्षा भए पनि बाढी आउने समस्याले प्रताडित छ । राजनीतिक दल र नेतालाई पटक-पटक भरोसा गरे पनि सुविधाको श्वास फेर्न नपाएका महानगरवासीले नयाँ मेयरबाट परिवर्तनको आशा राखेका छन् ।
उनले पाएको फराकिलो मतान्तरले उनीमाथि यहाँका मतदाताले राखेको आशा र भरोसा दुवै झल्किएको छ । दलको घेराभन्दा बाहिरबाट काठमाडौंमा पहिलो मेयरको रुपमा महानगर छिर्न लागेका उनले कस्तो काम गर्लान् ? अहिले धेरैको चासो यही छ ।
मनसुन सुरु हुँदैछ तर‚ सडकमा फोहोर यत्रतत्र छ । कतै खाल्डो, कतै हिलो । थोरै पानी पर्दा उर्लिएर आउने यहाँका खोलाले बर्सेनि बाढीको रुप लिन्छन्, र बर्सेनि लाखौँ धनजनको क्षति हुन्छ, ज्यानै पनि लिन्छ । काठमाडौंका सडक न पैदलयात्रुमैत्री छन्, न अपाङ्गमैत्री ।
सडकमा ट्राफिक जाम हुने समस्या निरन्तर छ । हिँड्दा-हिँड्दै फुटपाथ टुंगिन्छन् । बाटोमा रहेका बिजुलीको खम्बामा गुजुल्टिएर रहेका बिजुली तारले बाटो छेकेर सहरलाई झन् कुरुप बनाएका छन् । काठमाडौंको नेतृत्वमा यसपटक दुई नयाँ युवा अनुहार देखिएपछि यहाका जनता आशावादी बनेका छन्।
को हुन् बालेन ?
देशको सबैभन्दा ठूलो स्थानीय तह, काठमाण्डूमा ठूला राजनीतिक दलहरूका उम्मेदवारविरुद्ध उभिएका बालेन्द्र शाह पेसाले स्ट्रकचरल इन्जिनियर हुन्। त्यसअघि उनी सङ्गीत रुचाउने ठूलो जमातबीच र्यापरका रूपमा चिनिएका थिए।
डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा बालेन “र्याप ब्याटल” नामक प्रतियोगितामा सहभागी भएपछि नयाँ पुस्ताका युवामाझ परिचित भएका हुन्।
इन्जिनियरका रूपमा उनले सडक र पुलदेखि, औद्योगिक क्षेत्र, भ्यूटावर, खेलकुद मैदान र साइन्स पार्कहरूको खाका कोर्ने वा निर्माण गर्ने कार्यमा संलग्न रहेर काम गरेको बताउने गरेका छन्। पहिलो पटक उम्मेदवारी दिँदै आफूले कमाएको चर्चा र विश्वासको श्रेय उनी सङ्गीतमार्फत् कमाएको नामलाई नै दिन्छन्।
निर्वाचन अभियानमा लागेको बेला बीबीसीसँगको कुराकानीमा उनले भनेका थिए, “सङ्गीत क्षेत्रमा १०-१२ वर्षदेखि छु तर मनोरञ्जनभन्दा बढी सामाजिक मुद्दा उठाएको छु। राजनीतिक मुद्दादेखि मानसिक स्वास्थ्य, समाज परिवर्तनका लागि कसरी सोच्ने भन्ने कुरा गीतमार्फत् बुझाउँदै आएको थिएँ।”
आफूले कलामार्फत् उठाउँदै आएको मुद्दालाई मूर्त रूप दिने र व्यवहारमा लागु गर्ने समय भएको उनले बताएका छन्। आफू कुनै राजनीतिक दलमा संलग्न नभई स्वतन्त्र मेयर हुनुले काम गर्न सहज हुने उनको अपेक्षा छ।
आफ्नो पेसागत दक्षता र शैक्षिक पृष्ठभूमिले पनि काम गर्न सहज हुने बालेनको दाबी छ। कुनै दलविशेषको नभई स्वतन्त्र उम्मेदवार बनेकाले बालेनलाई दलगत राजनीति नरुचाएका युवापुस्ताका मतदाताले रुचाएको स्पष्ट देखिन्छ।
दलीय राजनीतिमार्फत् उम्मेदवार हुँदा पार्टीप्रतिको दायित्व बढी देखाउनुपर्ने र महानगरका जनता एवं सेवाग्राहीप्रतिको जिम्मेवारी पूरा गर्न गाह्रो हुने बालेनको बुझाइ छ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली





