आज :

भरतपुरमा फेरी रेनुले लिइन अग्रता, कति मतले पछि परे विजय ? यस्तो छ ताजा अपडेट

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १६ मतले पछि परेका छन् । १५ हजार ३०८ मत गणना गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार एक सय ३८ मतसहित अग्रता लिएकी हुन् ।

मेयरमा एमालेका विजय सुवेदीले ५ हजार १२२ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४१६ मत पाएका छन् । यता तीन दिनदेखि जारी काठमाडौं महानगरपालिकाको मत गणनामा दोस्रो वडाको निर्वाचन नतिजा सोमबार सार्वजनिक भएको छ ।

काठमाडौंको लाजिम्पाट क्षेत्रमा रहेको वडा नम्बर २ को अध्यक्षमा प्यानलसहित नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ निर्वाचत भए । श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका सूर्यलाल महर्जनलाई ९२७ मत प्राप्त भयो ।

निर्वाचित वडाध्यक्ष श्रेष्ठका अनुसार उनको प्यानलमा विजयी भएका वडा सदस्य, महिला र दलित सदस्यको मत एक हजारदेखि १ हजार २०० को बीचमा छ ।

तर एमालेले काठमाडौंको मेयर पदमा उठाएका केशव स्थिापितलाई भने वडाबाट ५०० भन्दा केही बढी मात्रै मत खस्यो । जबकि उक्त वडाबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई १ हजार २२० मत गएको छ ।

आफ्नै पार्टीले उठाएको मेयरलाई वडा सदस्यलाई जति पनि मत नदिई बालेन साहलाई भोट खसाएको वडा नम्बर २ को मत परिणामले देखाएको छ । जनताको यो मतदान प्रवृत्तिलाई नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठ काठमाडौंमा एमाले र कांग्रेसका मेयर उम्मेदवारले जनताको मत नपाएको रुपमा अर्थ्याउँछन् ।

सोमबार बिहान ९ बजे सकिएको मत गणनामा महानगरको लाजिम्पाट क्षेत्रको वडामा पुनः निर्वाचित भएका श्रेष्ठले मुख्य राजनीतिक दलसँग आक्रोश पोख्दै जनताले लौरोमा भोट हालेको हुनसक्ने बताए ।

‘हाम्रै वडाबाट पनि हाम्रो मेयर पदका उम्मेदवारलाई पार्टीको मात्रै मत गयो, जनताको भोट गएन,’ श्रेष्ठले भने, ‘कांग्रेसको पनि त्यस्तै देखिन्छ । जनताले ठूला राजनीतिक दलप्रति आक्रोश पोखे ।’

पार्टीको मत स्थानीयस्तरमा काम गरेका वडाध्यक्ष र प्रतिनिधिले इमान्दारीका साथ पाएको उनको विश्लेषण छ । काठमाडौंमा एमालेको १० हजार कार्यकर्ता रहेको भन्दै श्रेष्ठले कार्यकर्ताको भोट एमालेमै खस्ने दाबी गरे । तर एमाले, कांग्रेस वा माओवादीलाई इमान्दार मानेर यसअघि भोट हालेका जनताको मत यसपटक लौरोमा गएको उनको बुझाइ छ ।

दुई तिहाइको सरकारलाई भंग गरेर पार्टी फुट्नु र अहिलेको देउवा सरकारको कमजोर कार्य सम्पादनका कारण पनि जनता वाक्क भएको श्रेष्ठ दाबी गर्छन् । मेयर पदमा एमालेलाई मत नजानुको अर्को कारण विगतको मेयरको कामगराइ पनि भएको श्रेष्ठको दाबी छ ।

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले आफू ‘हिरो’ बन्ने भन्दा पनि वडाध्यक्षलाई ‘हिरो’ बनाउने गरी काम गरेको श्रेष्ठ बताउँछन् ।

‘३२ वटा वडाको अध्यक्ष भनेकै मेयर शाक्य हो भन्ने उहाँको बुझाइ थियो, त्यही अनुसार आफू हिरो नभई वडा अध्यक्षलाई हिरो बनाउनुभयो,’ श्रेष्ठ भन्छन्, ‘अहिले आफैं जिरो हुनुभयो । हाम्रो पार्टीको मेयरलाई भोट नै आएन ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal