
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपालको लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति समझदारी भएको छ ।
लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीसँग आज भएको द्विपक्षीय भेटवार्तामा भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुद्धसँग जोडिएका दुई स्थानबीच ऐतिहासिक पुरातात्विक सम्बन्ध रहेको छ ।
लुम्बिनीमा जन्मिएका बुद्धको कुशिनगरमा मृत्यु भएको थियो । त्यस्तै प्रधानमन्त्री देउवा र मोदीले आज लुम्बिनीमा ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
सेन्टरको निर्माणपछि दुई देशबीचको सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी विहान भारतीय वायु सेवाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् ।
त्यहाँ उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । देउवा र मोदीले मायादेवी मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए । त्यसपछि उनीहरुले सेन्टरको शिलान्यास गरेका हुन् ।
‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु,’ मोदीले ट्वीटरमा लेखेका छन्, ‘नेपाल आइपुगेको छु । बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको छ । लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने अपेक्षामा छु ।’
भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनीमा ६ घण्टा बिताएर उनी आजै स्वदेश फर्कने जनाइएको छ ।