
काठमाडौँ । भरतपुर महानगरको प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी झिनो मतले अगाडि देखिएका छन्।
६५ मत गणना हुँदा मेयरमा सुवेदीले २६ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी रेनु दाहालले २५ मत पाएकी छन्।
कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले ७ मत पाएका छन्। ६ मत बदर भएको छ। मत गणना जारी छ। भरतपुरमा अघिल्लो पटक दाहालले मेयर जितेकी थिइन्।
यस्तै ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसले अग्रता बनाएको छ। काँग्रेसबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता बनाएका हुन् ।
यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ ।
वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन् । अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन्, बालेन्द्र शाह उर्फ बालेन, मनोजकुमार साह र विदुर बस्नेत ।
बालेन सङ्घीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् । युवा उम्मेदवार बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनको उम्मेदवार सिर्जना सिंहले पछि पारेका छन् । र, उनले लगातार मतान्तर बढाउँदै लगेका छन् ।
यो समाचार तयार पार्दासम्मको विवरणअनुसार बालेनको २१३ मत छ । स्थापितको १५९ र सिंहको १४८ मत छ । बालेनले अग्रता लगातार लिइरहेपछि समर्थकहरूले राष्ट्रियसभा गृह क्षेत्रमा खुसियालीस्वरुप नाराबाजी गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकापछि अर्को चर्चित स्वतन्त्र उम्मेदवारले अग्रता जारी राखेको उपमहानगरपालिका हो– जनकपुर उपमहानगरपालिका ।
मधेस प्रदेशको राजधानी रहेको यो उपमहानगरपालिकामा मनोजकुमार साहले पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई लगातार पछि पारेका छन् ।
उपमहानगरपालिकाको वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत र नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हीरा’ ले १ सय ५ मत पाएका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मात्र छ ।