
काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले वडा नम्बर १ को मतणना भइरहेको छ ।
प्रारम्भिक नतिजा अनुसार २० मत गणना हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् । असिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३ मत पाएका छन् । एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
उता घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
घोराही महानगरपालिकाका वडा नं. १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
घोराही र तुलसीपुर उपमहानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका छन् । नेकपा एमाले भने एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । यसैबीच जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा पनि मतगणना जारी छ ।
त्यस्तै वीरगञ्ज महानगरपालिकामा राजनीतिक दलका प्रतिनिधि समयमा नआउँदा मतगणनामा ढिलाइ भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि मतगणना सुरु हुन सकेको छैन ।
वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडाको मत गणना गर्नुपर्नेछ । शुक्रबार सम्पन्न निर्वाचनमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधि आउन ढिलो गरेका कारण मतगणना कार्य सुरु गर्न नसकिएको जानकारी दिएको छ । दलका प्रतिनिधिहरु ढिलोगरी आउँदा बिहान ८ बजे राखिएको सर्वदलीय बैठक पनि डेढ घण्टा पछि सुरु भएको थियो ।
सर्वदलीय बैठकले मतगणनामा आउन सक्ने विवाद समाधानका लागि २२ बुँदे निर्णय गरेको थियो । र मतगणना ११ बजेदेखि गर्नेगरी सहमति भएको थियो । तर राजनीतिक दलका प्रतिनिधि नआउँदा मतगणना सुरु गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
‘बिहान ८ बजे राखिएको सर्बदलीय बैठक पनि साढे ९ बजे मात्रै सुरु गर्न सकियो’ उनले भने, ‘ राजनीतिक दलका प्रतिनिधि साथीहरु आउन ढिलाइ भएकोले मतगणना कार्य सुरु गर्न सकिएको छैन । यसले गर्दा हामीलाई अप्ठेरो भइरहेको छ ।’
दलका प्रतिनिधि आइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना प्रारम्भ भएको सूचना जारी गरेर मतगणना सुरु गर्नेछ । ढिलोमा साढे १२ बजेबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
उता रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।
४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।
उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता छ । गौर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो ।