
बुटवल । रूपन्देहीको मर्चवारी गाउँपालिकामा वडा अध्यक्षका उम्मेदवारको घरमा ब’म बि’स्फोट भएको छ। वडा नम्बर ५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा बम बिष्फोट भएको हो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले ब’म बि’स्फोट भएको जानकारी आएको र सुरक्षाकर्मीको टोली घटनास्थलमा जादै गरेको जानकारी दिए।
घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने बारे अझैँ खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थल पुगेको छ । उता रौतहटको बौधीमाई नगरपालिकामा मतपेटिकामा आगजनी गरिएको छ।
वडा नम्बर २ स्थित इनरवा टोलमा जनता समाजवादी पार्टी (जसपा) र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ।
झडप र आगजनीपछि इनरवाको अवस्था तनावग्रस्त रहेको डिएसपी सुनिल मल्लले जानकारी दिए। उनका अनुसार झडपमा परी एक जना प्रहरी समेत घाइते भएका छन्। घटनास्थलमा खटिएकाले थप विवरणपछि आउने उनले बताए।
त्यस्तै बाराको पचरौता नगरपालिकामा चार वटा मतदान केन्द्रको मतदान रद्द भएको छ। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले बुथ कब्जा गरी एकलौटी गर्न खोजेपछि मतदान रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
वडा नम्बर–२ र ४ को चार वटा मतदान केन्द्रको मतदान रद्द गरिएको निर्वाचन अधिकृत नीर दाहालले जानकारी दिए। उनका अनुसार पचरौताको वडा नम्बर–२ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रको मतदान रद्द गरिएको हो।
त्यसैगरी, वडा नम्बर–४ स्थित बेलदारी प्रावि मतदान केन्द्र ‘क’ र ‘ख’ को निर्वाचन समेत रद्द गरिएको छ। निर्वाचनमा खटिएका प्रतिनिधिहरूलाई पिटेर एकलौटी रूपमा भोट खसाल्न थालिएपछि निर्वाचन रद्द गर्ने निर्णय भएको निर्वाचन अधिकृत दाहालले बताए।
‘यद्यपी ती स्थानमा पुनः कहिले निर्वाचन हुने तय भइसकेको छैन’, उनले भने। कार्यालयका अनुसार वडा नम्बर–२ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रमा एमालेका नेता/कार्यकर्ताले एकलौटी गरेका थिए भने वडा नम्बर–४ स्थित बेलदारी प्रावि मतदान केन्द्र ‘क’ र ‘ख’ कोमा जसपाका नेता/कार्यकर्ताले बुथ कब्जा गरेका थिए।
एमाले र जसपाले एकलौटी गरेपछि केहीबेरमै मतदान रोकिएको थियो। त्यहाँ दिनभर मतदानै हुन पाएन।