
रौतहट । जिल्लाको यमुनामाई गाउँपालिका २ स्थित भिडियाही टोलमा मतपेटिका लिएर स्थानीय भागेका छन्।
अपरान्ह साढे ४ बजे झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। यद्यपि सो मतपेटिका प्रहरीले नियन्त्रणमा लिइसकेको निर्वाचन अधिकृत घनश्याम साहले बताए।
उनका अनुसार एउटा मतपेटिका लिएर स्थानीयले भागेका थिए। प्रहरीले लखेटेर मतपेटिका नियन्त्रणमा लिएको थियो। निर्वाचनको क्रममा झडप भएपछि मतदान रोकिएको थियो।
अहिले सर्वदलीय बैठक चलिरहेको निर्वाचन अधिकृत साहले बताए। जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा आक्रोशित भिडले मतपेटिका लिएर भागेका थिए।
निर्वाचन अधिकृत साहका अनुसार झडपको क्रममा मतदानमा खटिएका उम्मेदवारका प्रतिनिधिले मतपेटिकामा पानी समेत खन्याइदिएका थिए।
यस्तै, यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थलबाट समेत एउटा मतपेटिका लिएर उनीहरू भागेका थिए। यस्तै सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको हो। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको भन्दै दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि मतदान स्थगित भएको हो।
कार्यकर्ताले मतदान केन्द्रमेत घेरेका छन्। मतदान केन्द्रमा खटिएका मतदान अधिकृत टोपबहादुर रानासहितका कर्मचारीसमेत केन्द्रभित्र थुनिएको सिम्ताका निर्वाचन अधिकृत नारायण सापकोटोले जानकारी दिए। उनका अनुसार सुरक्षा व्यवस्था थप कडा गरेपछि मात्र मतदान पुन: सुरू गर्न सकिनेछ।