
काठमाडौँ । आज मुलुकभर बिहान ७ बजेबाट साँझ ५ बजेसम्म हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्ने समय छुट्याइएको छ।
मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये एक लिएर जान आयोगको अनुरोध गरेको छ।
के गर्न पाइँदैन ?
राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने ।
कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवम् आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदानकेन्द्रमा प्रवेश गर्न नहुने।
मतदाताले मतदान केन्द्रमा मतदान गर्न जाँदा मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाईटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाउने।
कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार फैलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन नहुने।
कसैको दल वा उम्मेदवारको झण्डा वा चिन्ह अंकित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने, कसैको पक्ष विपक्षमा सामाजिक संजाल मार्फत् कुनै कुरा प्रकाशन प्रसारण र सम्प्रेषण गर्न नहुने।
मतदान केन्द्रमा होहल्ला गर्न पनि पाइँदैन। यस्तै मतदान केन्द्रमा मतदानको लागि आउने अशक्त, वृद्ध, सुत्केरीलाई आवश्यक सहयोग गर्नुपर्छ।
आयोगले मतदान गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गर्नसमेत अनुरोध गरेको छ। मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने पाए पनि यो चिह्नमा मत गर्नुपर्छ भनेर कसैलाई पनि भन्न पाइने छैन।
आयोगले मतदानको दिन गाडी प्रयोग गरी आउजाउ गर्न नहुने, अर्काका नामबाट मतदान गर्न नहुने, एकभन्दा बढी पटक मतदान गर्न नहुने, मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न नपाइने उल्लेख गरेको छ।
कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ। छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ।
मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन्। शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकसाथ देशभर मतदान हुँदैछ।
निर्वाचन आचार संहिता, २०७८ ले मतदानको दिन मतदानकेन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भातृ संगठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणबारे पष्ट व्यवस्था गरेको छ ।