आज :

कोहलपुर नगरका लागि निर्विकल्प नरेन्द्र न्यौपाने

  • अनलाइन डबली

बाँके । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कोहलपुरमा मेयर पद उम्मेदवार नरेन्द्र न्यौपाने पराजित भए पनि कोहलपुरको विकास निर्माणका काममा उनको क्रियाशीलतामा कमी आएन । विजय नभए पनि माओवादी युवा नेता न्यौपाने छाया मेयरका रुपमा कोहलपुर नगरबासीको काममा अहोरात्र खटेर काम गरिरहे ।

प्रशासनसँग सम्बन्धित काम होस् वा विकास र जनसेवाका काम होऊन्, उनी निरन्तर खटिरहेका छन् । पराजित भएर पनि जनताको काममा खटिरहने नरेन्द्रले जनताको सेवा र विकास गर्न पदमै रहनुपर्छ भन्ने मान्यता तोड्नुपर्ने बताउँछन् ।

केन्द्रीय तहको विद्यार्थी राजनीति गरेर कोहलपुर आएलगत्तै मेयरमा चुनाव लडेर पराजित भएका न्यौपानेले पछिल्लो ५ बर्ष कोहलपुरको भू–राजनीतिक अवस्था, मुख्य मुख्य समस्या र सम्भावनाका बारेमा समेत अध्ययन गर्ने मौका पाएको र जनताको सेवा गर्ने अवसरका रुपमा बिताएको बताउँछन् ।

गाउँघरका साना तिना समस्यादेखि कोहलपुरको विकासका काममा प्रदेश र केन्द्र सरकारसँग लबिङ होस् या कोभिड महामारीमा जनसेवामा न्यौपाने निरन्तर खटेका छन् । न्यौपानेकै नेतृत्वमा कोभिड महामारीका समयमा विपन्न तथा मजदूरहरुका लागि १ हजार २ सय बोरा चामल तथा दाल वितरण गरेका थिए । कोहलपुरका १५ वटै वडाका विपन्न तथा दैनिक रोजगारी गुमाएकाहरुका लागि राहतस्वरुप चामल तथा दाल वितरण गरिएको थियो । त्यतिमात्रै होइन्, न्यौपाने चिकित्सकसहितको टोली लिएर २ सय ५० जना कोभिड संक्रमितको घर घरमा पुगेर औषधी तथा परामर्श सेवा दिएका थिए ।

न्यौपानेकै नेतृत्वमा कोभिडका कारण मृत्यु भएकाहरुको निःशुल्क शव व्यवस्थापनको कामसमेत कोहलपुरमा गरिएको थियो । कोहलपुरलाई प्रशासनिक केन्द्रका रुपमा विकास गर्न पनि न्यौपानेको उत्तिकै सक्रियता रह्यो । माओवादी केन्द्रका युवा नेता न्यौपानेको बिशेष पहलमा कोहलपुरमा इलाका प्रशासन कार्यालयको स्थापना, विद्युत वितरण कार्यालयको स्थापना भइसकेको छ भने कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा स्थापनाको नीतिगत निर्णय भइसकेको छ ।

नरेन्द्र न्यौपानेको खटाइ र दौडधुपका कारण आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उनी एक्ला उम्मेदवार हुन् । शिक्षित, योग्य तथा कोहलपुरको विकास र निर्माणमा निरन्तर क्रियाशील युवा नेतृत्व हुनाले पार्टीमा मेयर पदमा अन्यले आकाङ्क्षासमेत नराखेको एक माओवादी नेताले बताए ।

भिजनसहितको युवा नेतृत्व र निरन्तरको क्रियाशीलताले यसपटकको निर्वाचनमा नरेन्द्र न्यौपाने विजयी हुनेमा आफुहरु ढुक्क रहेको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्काले बताए । नरेन्द्र न्यौपानेलाई गठबन्धन दलहरुमा समेत सर्वस्वीकार्य पात्रका रुपमा हेर्ने गरिएको र सोही अनुसार कुराकानी हुने गरेको अध्यक्ष खड्का बताउँछन् ।

चुनावमा टिकट पाएपछि मात्रै सक्रियता देखाउने र जनताको सेवामा लाग्ने राजनीतिक संस्कारलाई नरेन्द्रले चुनौती दिएको कोहलपुरका अगुवा व्यवसायी बलराम काफ्ले बताउँछन् । चुनावमा टिकट पाएपछि क्रियाशील हुने हारेपछि घर बस्ने, जीत मात्रै जनताको सेवा गर्न सकिन्छ भन्ने मान्यतासमेत युवा नेता न्यौपानेले तोडिदिएको काफ्लेको भनाई छ ।

छायाँ मेयरका रुपमा जनताको सबैखाले समस्यामा साथी बनेका न्यौपानेलाई एकपटक कोहलपुरको मेयरका रुपमा कोहलपुरका जनताले हेर्न चाहेको कोहलपुर उद्योग वाणिज्य संघका संस्थापक सदस्य शेषकान्त्त शर्माको भनाई छ । न्यौपाने विजयी भएमा पश्चिम नेपालको सम्भावनाको शहर कोहलपुर देशमै नमुना र अग्रणी विकास हुने उनले बताए ।

कोहलपुरको विकास गर्न भिजन भएको नेतृत्व र सबै दलको साथ आवश्यक हुने युवा नेता न्यौपानेको भनाई छ । ‘नेतृत्व र पहल एक ठाउँमा छ साथ र सहयोग सबैको आवश्यक हुन्छ’ न्यौपानेले भने । नेतृत्व क्षमताका कारण पछिल्लो ५ बर्ष खेर गएको बताउने न्यौपानेले अब पनि जुझारु नेतृत्व नपाउने हो भने कोहलपुरको बिकास धेरै पछाडि धकेलिने बताए ।

कोहलपुरको विकासका लागि के छन् न्यौपानेका योजना

समुन्नत कोहलपुर निर्माणका लागि हाम्रो पहिलो प्राथमिकता सुशासन र पादरर्शी स्थानीय सरकार नै हुनेछ । स्थानीय सरकारले गरेका काम र योजनाहरुबारे जनतालाई जानकारी दिने र त्यसबारे स्थानीयबासीको गुनासो सम्बोधन गर्ने कुरालाई प्राथमिकतामा राख्ने छौं । हामी कोहलपुरमा लोककल्याणकारी स्थानीय सरकार बनाउने योजनामा छौं ।

खास गरि सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभूत वस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस गर्नुपर्ने छैन । निःशुल्क शिक्षा, स्वास्थ्यमा सबैको पहुँच कायम हुनेछ । आधारभूत उपभोग्य खाद्य वस्तुमा सबैको पहुँच कामय गर्न सहुलियतमा खाद्य वस्तु प्राप्त गर्ने आधार तय गरिने छ ।

नगर अस्पतालबाटै नागरिकलाई सबैखाले स्वास्थ्य सेवा निःशुल्क रुपमा लिनका लागि अस्पतालको पूर्वाधार र प्रविधि विकास गर्ने तथा अन्यत्र जानैपर्ने अवस्था सिर्जना भए अत्याधुनिक एम्बुलेन्स चिकित्सकीय सेवा निःशुल्क बनाउने छौं ।

बिजुली र खानेपानी लगायतका अनिवार्य र आधारभूत वस्तु तथा सेवालाई सबैको पहुँच कामय गर्दै सर्वसुलभ बनाइने छ । सार्वजनिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सबै प्रयासहरु गरिने छ । भौतिक पूर्वाधार, जनशक्ति वृद्धिमा मुख्य ध्यान केन्द्रीत गरिने छ । विपन्न तथा अनाथ बालबालिकालाई पठन पाठन गर्न आवासीय विद्यालयको स्थापना गर्ने सोचमा छौं ।

संविधानको मर्मअनुसार दलित तथा भूमिहीन सुकुम्वासीलाई भूमिको मालिक बनाउने नीतिलाई कार्यान्वयन गर्न स्थानीय स्तरबाट ठोस कदम चालिने छ । कोहलपुरको समस्याको रुपमा रहेको अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गर्न भूमिसुधार मन्त्रालय र भूमि आयोगको कामलाई प्रभावकारी ढंगले अगाडि बढाइने छ ।

एक बर्षभित्रमा भूमि समस्या समाधान गर्न जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी काम गर्ने छौं । पर्यटन, कृषि तथा पशु पालन, औद्योगिक क्षेत्रको विकास गरि रोजगारका सृजना गर्ने तथा शैक्षिक बेरोजगारहरुको अभिलेख तयार गरि रोजगारी सृजना लगायतका कम गरिने छ ।
कोहलपुरको विकासका लागि निजी क्षेत्र, सहकारी र स्थानीय सरकारको समस्यामा फोहर मैला व्यवस्थापन, छाडा पशु, चौपाया व्यवस्थापन, ठेला व्यवसायीलाई व्यवस्थापन, अटो रिक्सा व्यवस्थापनको काम गर्ने छौं ।

मजदूरहरुका समस्या समाधान श्रम ऐनको, सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा स्थानीय सरकारले समेत आवश्यक समन्वय तथा पहल गर्नेछौं । किसान कल सेन्टरबाट कृषि तथा पशुपालन क्षेत्रको समस्या समाधान, निःशुल्क टोल फ्री सेवामार्फत् स्थानीय जनताको जनगुनासो सुन्ने र समाधान गर्ने तथा नगरपालिकाको सम्पूर्ण कामलाई पेपरलेस बनाउनेतर्फ काम गर्ने छौं ।

विद्युतीय सेवा प्रयोगमा प्रोत्साहन गर्न, इन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन गर्ने छौं । बिकासका कामलाई टिकाऊ र दिगो बनाउन नीतिगत सुधारका काम गर्ने छौं । केन्द्र र प्रदेश सरकारसँगको सहकार्यमा ठूला तथा नमुना विकासका योजनाहरुलाई अगाडि बढाउने छौं । कोहलपुरलाई प्रशासनिक केन्द्रको रुपमा विकास गर्न थप प्रयासहरु हुनेछन् । समग्रमा आगामी ५ बर्षमा हामी लोककल्याणकारी, सुशासन र पारदर्शी स्थानीय सरकार निर्माण गर्ने छौं ।

बिकासका हिसाबले समुन्नत कोहलपुर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नेछौं । रोजगार सृजना र कृषि क्षेत्रमा ठुलो पड्को मार्ने छौं । कोहलपुर र कोहलपुरवासीका लागि आगामी ५ बर्ष स्वर्णिम कार्यकाल हुनेछ । राजनीति सेवा हो । रोजगार अथवा पैसा कमाउने र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्ने माध्यम बन्नु र बनाइनु हुँदैन् भन्ने मेरो मान्यता छ र सोही आधारमा म अघिल्लो कार्यकालमा पराजित भएर पनि निरन्तर जनताको सेवामा छु । जनताको सेवा गर्न प्लेटफर्म पाएमा एकाकार भएर कोहलपुरको विकास र पहुँचका लागि अगाडि बढ्ने छौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal