
काठमाडौं । गायक प्रकाश सपुतले बेइमानी गरेका छन् । चौतर्फी दवावपछि विवादित पीर गीतको विवादित दृश्य हटाएर नयाँ भिडियो यूट्युवमा अपलोड गरेका छन् । तर उक्त विवादित दृश्य भएको गीत उनको यूट्युव च्यानलमा अझै छ ।
गीतमा जनयुद्ध लडेकी महिला कमाण्डरलाई यौनकर्मी बनाएको दृश्य समावेश गरिएको थियो । उक्त दृश्यपछि गीत विवादित भएको थियो । माओवादीसँगै महिला अधिकारीकर्मीहरुले गीतको विरोध गरेका थिए । माओवादी महिलाहरुले गीतबाट उक्त दृश्य हटाउनु पर्ने र नहटाए मानहानीको मुद्दा हाल्ने समेत चेतावनी दिएका थिए ।
उक्त दृश्य हटाइएको गीतको भिडियो शनिबार पुनः यूट्युवमा अपलोड गरिएको थियो । तर पहिलो अपलोड गरिएको भिडियो अझै नहटाएकोले उनको बेइमानी देखिएको हो ।
पहिलो भिडियोप्रति आत्मसमिक्षा भन्दा पनि नयाँ भिडियो हालेर पैसा कमाउने नियत देखिएको माओवादी नेताहरुले बताएका छन् ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित माओवादी नेताहरुले जनयुद्धमा महिलाको भूमिकाको अपमान गरेको भन्दै गीतको भिडियोबाट उक्त दृश्य हटाउन चेतावनी दिँदै आएका थिए ।
यसअघि चौतर्फी विरोध भएपछि प्रकाशले आत्मालाेचना गरेका थिए तर भिडियोबाट दृश्य हटाउनु पर्ने चर्को दवावकै कारण आज हटाएर नयाँ भिडियो अपलोड गरिएको छ ।