![](https://onlinedabali.com/wp-content/uploads/2022/02/janardab-sharma.jpg)
काठमाडौँ । अर्थमन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ ले विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल नगर्ने भएका छन् । एमसीसी सम्झौतामा तत्कालि अर्थमन्त्रीले हस्ताक्षर गरेकोले संसदमा पनि अर्थमन्त्रीले नै गर्नुपर्ने थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार अर्थमन्त्री प्रभाकरलाई एमसीसी टेबुल गर्ने तयारी गर्न भनेका थिए । तर, प्रभाकरले एमसीसी संसदमा आफूले पेश नगर्ने जानकारी गराएका थिए । अर्थमन्त्री स्तरमा सम्झौता भएको बताउँदै प्रधानमन्त्री देउवाले प्रभारकले नै संसदमा पेश गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री देउवाको निर्देशनलाई अस्वीकार गरेका प्रभारकले आफ्नो पार्टी निर्णयअनुसार आफू अगाडि बढ्ने जानकारी गराएका थिए । उनले पार्टीले एमसीसी हुबहु पास गर्ने निर्णयको विपक्षमा रहेको प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले पनि पेश नगर्ने बताएका थिए । प्रभारकले विकल्प खोज्न समेत प्रधानमन्त्रीलाई भनेका थिए ।
निकट स्रोतका अनुसार अर्थमन्त्री प्रभाकर आजको संसद बैठकमा समेत अनुपस्थित हुने भएका छन् ।
अर्थमन्त्रीले प्रभारकले एमसीसी संसदमा टेबुल गर्न नमानेपछि प्रधानमन्त्रीले संचारमन्त्री ज्ञानेन्द्र कार्कीलाई तयारी गर्न निर्देशन दिएका छन् । अब एमसीसी सम्झौतामा हस्ताक्षर गरेर राष्ट्रघात गरेको आरोप लागेका कार्कीले नै संसदमा टेबुल गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ । होहल्लाबीच एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । यसको लागि सभामुख पनि राजि भएको बताइएको छ ।
यसैबीच एमसीसी सम्झौता संसदमा टेबुल गर्ने निर्णयविरुद्ध पाँच दलीय गठबन्धनले नेपाल बन्दको आह्वान गरेको छ । विप्वल नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादीसहित पाँच पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाटै देशभर परेको छ ।
बन्दका कारण लामो र छोटो दुरीको सवारी साधन चल्न सकेका छैनन् भने बजार पनि बन्द नै छन् । एमसीसीको विरुद्ध जनमत भएकोले आजको नेपाल बन्द प्रभावकारी हुने बताइएको छ ।
मोर्चाले भोलिबाट थप संघर्षका कार्यक्रम समेत सार्वजनिक गर्ने निर्णय गरेको छ । एमसीसी आज संसदमा टेबुल भएपनि होहल्लाबीच पास गरेपनि कम्तिमा पनि एक हप्ता लाग्नेछ ।