
काठमाडौँ । काठमाडौँसहित देशभर बर्षा र हिमपात भएको छ । काठमाडौँ उपत्यकाका डाँडासहित पहाडी र हिमाली क्षेत्रमा भारी मात्रामा हिमपात भएको छ । काठमाडौँका चन्द्रागिरी, फुल्चोकी, शिवपुरी, दलचोकीसहित अधिकांश क्षेत्रमा हिमपात भएको छ ।
पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनिरहेको छ । वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशु चौपायालाई असर गरेको छ ।
डोल्पा, हुम्ला, मुगु, मनाङ, मुस्ताङसहित उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उपत्यका आसपासलगायत उच्च पहाडी क्षेत्रमा पनि पटकपटक हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारबाट मात्रै मौसम सुधार हुने बताएको छ । आज राति र भोलि यसैगरी देशका अधिकांश क्षेत्रमा बर्षा र हिमपात हुनेछ ।
चन्द्रागिरीलगायतका क्षेत्रमा हिउँ खेल्न जानेको भिड लागेको छ ।
- फाेटा: जन्मदेव जैसी