
काठमाडौं। केही दिनदेखि ओरालो लागेको कोरोना संक्रमणबाट मृत्युदर फेरि ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १४ जना संक्रमितको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट विहीबारसम्म ११ हजार ७७८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी आज थप ३ हजार बढीमा कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा बिहीबारसम्म १० लाख ९५ हजार ६३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । जसमध्ये ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६३ हजार २९६ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार हाल ६१ हजार ८६२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज पनि सबैभन्दा बढी काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १,२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण देखिएको हो ।