
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) जर्मनीमा सार्वजनिक गरेको । प्रत्येक वर्षझैं टीआईले यो वर्ष पनि विश्वभर भ्रष्टाचारको अवस्था सार्वजनिक गरेको हो ।
आज जर्मनीमा सार्वजनिक गरेको सीपीआईमा नेपालको सुशासनको अवस्था गत वर्षकै अवस्थामा देखिएको छ । नेपाल गत वर्षकोझैं ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । विश्वका १८० वटा देशको बरियताक्रममा नेपाल ११७ औं स्थानमा रहेको छ ।
यो विवरणले नेपालमा भ्रष्टाचारमा कमी नआएको देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने टीआईले जनाएको छ ।
कुन मुलुकमा कत्तिको सुशासन छ भनी आँकलन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको सीपीआईको सूचकलाई आधार मान्ने गरिएको छ । विभिन्न मुलुकहरुका आम नागरिकसँग प्रश्न गरेर उनीहरुले आफ्नो मुलुकभित्र कत्तिको भ्रष्टाचार छ भनी अनुभूत गर्छन् भन्नेबारेमा सर्वेक्षण गरी यो सूचक सार्वजनिक गरिन्छ ।
दक्षिण एसियाली मुलुकहरुको तुलना गर्ने हो भने नेपालको अवस्था सुधारोन्मुख छैन । भुटानले ६८ अंक पाएको छ भने भारत र माल्दिभ्स ४०, श्रीलंका ३७ अंकका साथ नेपालभन्दा अगाडि छन् । पाकिस्तानले २८, बंगलादेशले २६ अंक पाएका छन् । अफगानिस्तान १६ अंकका साथ सबैभन्दा भ्रष्टाचार हुने मुलुकहरुको चौथो श्रेणीमा छ ।
विवरणअनुसार सर्वेक्षणमा परेका १८० मुलुकमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले ८८ अंक पाएर राम्रो सुशासन भएको मुलुकमा परेका छन् । सबैभन्दा बढी भ्रष्टाचार व्याप्त दक्षिणी सुडानले ११ अंकमात्रै पाएको छ । ५० भन्दा कम अंक ल्याउने मुलुक भ्रष्टाचारले आक्रान्त भनी चित्रण गरिन्छ ।