
काठमाडौं । बालुवाटारस्थित सेक्युरिटी गार्ड सप्लाई गर्ने बहुराष्ट्रिय कम्पनी जी. फोर. एस. विरुद्ध मजदुरहरु आन्दाेलित भएका छन् ।
मजदूरहरुले सामाजिक सुरक्षा ऐन लागु हुनुपर्ने, न्यूनतम तलब लागु गर्नुपर्ने, सामाजिक सुरक्षा काेषमा जानुअघि उपदान, सञ्चयकाेषकाे रकम फिर्ता गर्नुपर्नेलजागयतका ९ बुँदे मागहरु छन् ।
अखिल नेपाल सेक्युरिटी मजदुर संघ जीफोरएसकाे मुल कमिटीले साे आन्दाेलनकाे नेतृत्व गरिरहेकाे छ । संघका केन्द्रीय अध्यक्ष लक्ष्मी ढकालले मुल इकाई कमिटीले राखेका मागहरु पूरा नगरे संघर्षलाई अझ चर्काे बनाउने र आवश्यक परे केन्द्रले नेतृत्व गरेर भएपनि व्यवस्थापनलाई माग पूरा गराउन बाध्य पारिछाड्ने दृढता व्यक्त गरे ।
आन्दाेलनप्रति ऐक्यबद्धता जनाउँदै श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले सेक्युरिटी मजदुरका आधारभूत मागहरु समयसापेक्ष र जायज भएकाले पत्रकारहरु पनि मजदुरकाे पक्षमा दृढतापूर्वक लागिपर्ने बताए । “पत्रकार केवल प्रचारकर्ता मात्र हैन, अभियानकर्ता र संगठनकर्ता पनि हाे, हामी सँधै श्रमकाे उचित सम्मान हुनुपर्छ र कानुन मान्न व्यवस्थापनलाई बाध्य पार्नुपर्छ भन्ने मान्यता राख्छाैं, अध्यक्ष जैसीले भने ।
प्रेस सेन्टरका अध्यक्ष महेश्वर अधिकारीले पत्रकारहरु स्वयं श्रमजीवी भएकाले सेक्युरिटी क्षेत्रका श्रमजीवीकाे अधिकार रक्षाका लागि निरन्तर कलम चलाउने प्रतिवद्धता जनाए ।
मुल इकाईका अध्यक्ष राजेन्द्र पाठकले पुर्वाग्रही ढंगले श्रमजीवीलाई राेजगारबाट निकाल्ने, अधिकार मागेपछि पुर्वाग्रह साेच राखेर ड्युटी पाेष्टबाट परिवर्तन गर्ने, प्रत्येक आर्थिक वर्षकाे अन्त्यमा कम्पनीकाे आय-व्यय पारदर्शी रुपमा श्रमिकसमक्ष राख्नुपर्ने, श्रम ऐन विपरित भर्ना शुल्क लिन बन्द गरि यसअघिकाे फिर्ता गर्नुपर्नेलगायतका आफूहरुका ९ बुँदे मुख्य माग पूरा नगरे घाेषित संघर्षका चरणवद्ध कार्यक्रमहरु अझ सशक्त रुपमा अघि बढ्ने बताए ।
संघले चरणवद्ध संघर्षका कार्यक्रम पत्रकार सम्मेलनमार्फत यसअघि नै सार्वजनिक गरिसकेकाे छ ।