काठमाडौं । बेमौसी बर्षाका कारण आएको बाढी-पहिरामा पाँचथरमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले बगाएर हराएका फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिराले पुरिएर बे पत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेसँगै यो संख्या पुगेको हो ।
बाढी र पहिरामा सबैभन्दा धेरै २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् । योसहित २८ जनाको यसअघि नै पहिचान भइसकेको थियो । अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी अझै हराइरहेका छन् । जसमा दुई स्वास्थ्यकर्मीसमेत छन् ।
इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बे पत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ ।