
काठमाडौँ । मनसुन सुरुसँगै आएको बाढी र पहिरोमा परी ज्यान जानेको संख्या १७ पुगेको छ । गृहमन्त्रालयका अनुसार जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । जसमा सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानममा १÷१ जना रहेका छन् ।
बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३÷३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १÷१ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
त्यसैगरी बाढी पहिरोमा परी २२ जना हराइरहेका छन् । जसमा १५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको छ । प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी उद्धारमा सक्रिय रुपमा संलग्न रहेको छ ।
बाढी पहिरोका कारण सयौं घर परिवार विस्थापित भएका छन् । उनीहरुको उद्धार, राहत पुनस्र्थापनाको लागि सरकारले छिटो छरितो कार्य नगरेको भन्दै आलोचना भइरहेको छ । विभिन्न राजनीतिक पार्टी, सामाजिक संघ संस्था तथा अभियान्ताहरुले राहत र उद्धारका कार्यमा लागिरहेका छन् ।