
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि घटेको छ । काठमाडौँसहित देशभर निषेधाज्ञा जारी भएको एक हप्ताबाट संक्रमणदर स्थिर हुँदै ओरालो लागेको थियो । परीक्षणको करिब आधामा संक्रमण हुने अवस्था पुगेको थियो भने एकै दिन ४ सयसम्मको ज्यान गएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ४४ जना संक्रमितको उपचारको ज्यान गएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
त्यसैगरी अहिले संक्रमितभन्दा निको हुने दर दोब्बर छ । आज थप ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ८९ प्रतिशत रहेको छ ।
नयाँ संक्रमितभन्दा निको हुने बढी रहेसँगै हाल सक्रिय संक्रमितको संख्या घटेर ५९ हजार ६२४ पुगेको छ । यसमध्ये ५५ ३७५ जना होमआइसोलेनमा, ४ हजार २४९ संस्थागत आइसोलेसनमा, ८७२ जना आईसीयू तथा २४६ जना भेन्टिलेटरमा रहेका छन् ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुगेको छ । कोरोनाको मृत्यु दर १.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।