काठमाडौँ । नेपालमा थप ४ हजार भन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएको विवरणअनुसार आज थप ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । परीक्षण गरिएका १६ हजार वटा नमुनामा २८.६ प्रतिशत सङ्क्रमित भेटिएको पौडेलले जानकारी दिए ।
कुल सङ्क्रमितमध्ये ८५.२ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको ज्यान गएको छ ।
देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७४,४३८ जना घरमै, ५,८९८ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, १ हजार ३१२ जना आईसीयूमा र ३७५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्यसैगरी आज थप ८१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ८ हजहार १७९ जनाको ज्यान गएको छ ।
आज पनि सबैभन्दा बढी काठमाडौँ उपत्यकामा संक्रमित भेटिएका छन् । जसमा काठमाडौँमा ६७९ जना, ललितपुरमा १५१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।